खेल
काठमाडौं । फरवार्ड लुइस स्वारेजप्रेरित इन्टर मियामीले लिग्स कपको सेमिफाइनलमा स्थान बनाएको छ । स्वारेजले दुई गोल गरेपछि मियामीले बिहीबार नियमित कप्तान लियोनल मेसीको अनुपस्थितिमा पनि मेक्सिकन क्लब टाइगर्स यूएएनएलविरुद्ध २–१ को जित निकालेको हो ।
मियामीलाई जित दिलाउन स्वारेजले दुवै गोल पेनाल्टीमा गरे । उनले खेलको २३औँ र ८९औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गरेका हुन् । मियामीको मैदान चेज रंगशालामा पाहुना टिमका एन्जल कोरियाले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।
मियामीले अब प्रतियोगिताको फाइनल प्रवेशका निम्ति मेजर सकर लिग (एमएलएस)कै अर्को टिम ओर्लान्डो सिटीसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमबीचको खेल यही अगस्ट २७ मा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२ ११:४१
प्रतिक्रिया दिनुहोस्