काठमाडौं । स्पेनिस ला लिगा २०२५–२६ मा रियाल मड्रिडले विजयी सुरुआत गरेको छ ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियालले ओसासुनाविरुद्ध १–० ले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेको हो ।
रियालको जितमा किलियन एमबाप्पेले निर्णायक गोल गरे । खेलको अधिकांश समय बल नियन्त्रणमा राखेको रियालले जितका लागि भने पेनाल्टीको मौका कुर्नु परेको थियो ।
१८ यार्ड बक्सभित्र ओसासुनाका खेलाडीले एमबाप्पेलाई लडाएपछि रियालले पेनाल्टीको अवसर पाएको थियो । खेलको ५१औँ मिनेटमा पाएको पेनाल्टीमा एमबाप्पेले गोल गर्दै रियाललाई अग्रतामा राखेका हुन् । यही गोल निर्णायक बन्दा रियालले नयाँ सिजनको पहिलो खेलमा तीन अंक सुनिश्चित गरेको हो ।
इन्जुरी समयमा मिडफिल्डर एबेल ब्रेटोनले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो ।