सर्जक अशोक सिलवालको पछिल्लो पुस्तक ‘अप्प दीपो भवः’ हात पर्दा मेरो पहिलो सोच भगवान् बुद्धका सम्बन्धमा लेखिएका अनेक पुस्तकहरूमध्ये हुनुपर्दछ भन्ने भयो ।
तर, पाना पल्टाउँदै जाँदा पत्रकार जीवेन्द्र सिम्खडाको मन्तव्यमाथि नजर गयो, जसले मेरो सोचलाई गलत मात्र ठहर्याएन, अपितु पुस्तकको संक्षिप्त चित्र नै प्रकट गर्यो ।
उनी लेख्छन्, ‘अप्प दीपो भवः विषयगत रूपमा पशुपतिविज्ञ अशोक सिलवालले शिवकोे सर्वाधिक प्यारो वासस्थल कैलाश कोरा गर्दाको रोमाञ्चक यात्रा कथा हो ।’
पढ्दै जाँदा यात्राले प्राप्त गरेको रोमाञ्चक परिवेशका मनोरञ्जनात्मक चित्रहरू आँखाअगाडि आउन थाले र मनले पनि भन्यो– तँ पनि यस यात्रामा सामेल भइदिएको भए यत्तिकै आनन्द अनुभव गर्न पाउने थिस् बुढा !
यो त मनको कुरा भयो, तर पुस्तक पढ्दै गर्दा यो उनको तीर्थयात्रा हो वा कैलाश मानसरोवरको रोमाञ्चक यात्रा भन्ने प्रश्न खडा भयो । किनभने, यसमा दुवै पक्षको वृत्तान्त रोचक तरिकाले पस्किइएको छ, जसको सुखद अनुभव सिंगै पुस्तक पढेर मात्रै प्राप्त हुन्छ ।
मनमा अर्को प्रश्न उत्पन्न भयो, त्यो के भने– मानिस तीर्थयात्रामा कुन उद्देश्यले जाने गर्छन् ? पापमोचनका लागि वा मोक्ष प्राप्तिको भावनाका कारण ! अशोकले यो खुलाएका छैनन् । बस्, यत्ति लेखेका छन्, ‘कैलाश यात्राको कार्यक्रम बनाएका साथी विमलजीले ‘जाने हो’ भनी सोध्दा सोच्दै नसोची तत्कालै ‘ह्वाई नट’ भनेँ ।’ र, यसै ‘ह्वाई नट’ले उनको कैलाश कोराको कार्यक्रमले गति प्राप्त गर्न थाल्यो ।
यद्यपि, विमलजीले यात्राको प्रोेसेसिङ पूरा गरिसकेका रहेछन्, जसमा अशोक सिलवाल भन्ने नाम थिएन । तर, यस प्रोसेसिङमा अशोक कसरी अटाए त्यसको वृत्तान्त पनि बडो रोचक छ ।
कैलाशले चाहेर होला, अन्ततः उनी कैलाश कोराको कार्यक्रममा सहभागी हुन पुगे ।
अब मेरो मनमा उठेको प्रश्न– यदि, यो तीर्थयात्रा हो भने यात्रा सुसम्पन्न गरी घर फर्केका तीर्थयात्रीहरूको के पापमोचन हुन्छ ? के उनीहरू जन्मदेखि नै पाएका राजसी र तामसी गुणबाट मुक्त हुन सक्तछन् ?
यो प्रश्न किनभने, मैले तीर्थयात्राको नाममा हुने विभिन्न यात्रा पूरा गरी फर्केकाहरूका दैनिक जीवन तामसी गुण र यसका विकारहरूबाट मुक्त भएको देख्न पाएको छैन । यसो हुँदा मैले तीर्थयात्रापट्टि ध्यान दिने गरेको छैन ।
‘अप्प दीपो भवः’ पढ्दै गर्दा लाग्दछ, लेखक सिलवालले भगवान् बुद्धद्वारा आफ्ना शिष्यहरूलाई दिइएको यस वाक्य सूत्रलाई आफ्नो जीवनमा चरितार्थ गरेका छन् । किनभने, राम्रो कर्मले मात्र जीवनलाई आलोकित पार्न सक्तछ, जीवनमा हर्ष र खुसीेको सञ्चार गर्न सक्तछ ।
अशोकका उपलब्धि र उनीभित्र विद्यमान हास–परिहास आदि, जुन यस पुस्तकमा पनि भरिपूर्ण मात्रामा प्राप्त हुन्छ ले यस पंक्तिकारको दृष्टिमा उनले आफ्नो जीवनलाई आलोकित गर्न सफलता पाइसकेका छन् ।
उनको विनोदप्रियता, कर्मशीलता र विभिन्न विधामा प्राप्त सफलताले यस कुरोको प्रमाण दिइरहेको पाइन्छ ।
काठमाडौंबाट ‘ॐ नमः शिवाय’को उद्घोषका साथ सुरु भएको उनको यात्रा देशभित्रका विभिन्न ठाउँ र स्याफ्रुबेँसी हुँदै टिमुरे पुग्यो, जहाँको परिवेशले उनको मनमा हर्षभन्दा बढी तिक्तताको भाव उत्पन्न गर्यो ।
कारण, एउटा आफ्नै देशको सेक्युरिटी केटीले उनलाई भारतीय भन्ठानेर हिन्दीमा ब्याग खोल्ने आदेश दिनु र अर्को, नेपाली सिमानापट्टि यात्रुहरूका लागि सामान्य सुविधा पनि नहुनु ।
तर, आफ्नो नामलाई सार्थक रूप दिने अशोक प्रतिकूल स्थितिमा पनि आनन्द उठाउने बानीका कारण सहभागी युवतीहरूसित ठट्यौली गर्न नचुक्ने गरेको पाइयो ।
सिमानाभित्र केही घण्टाको विरक्तिपूर्ण अवधि बिताएपछि यात्रा अगाडि बढ्न थाल्यो र पुग्यो तिब्बतभित्रको सहर केरुङ, जसको अर्थ हुन्छ– सिटी अफ ह्यापिनेस ।
उनले सहरको सम्बन्धमा गरेका परिकल्पनाअनुसार केरुङलाई नभेट्टाए पनि त्यहाँका फूलहरू, चिप्ले किरा पनि चिप्लनेखालको सडक, मन्दिर, माने आदि देखेर पुलकित भएको मनबाट स्वतः एउटा आवाज निस्केछ– आहा केरुङ !
यति मात्रै होइन, त्यहाँ एउटा सरकारी कार्यालयको गेटको भित्तामा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङको चित्ताकर्षक फोटोसित टाँसिएर एउटा सेल्फी लिन पनि चुकेनछन् ।
यसरी लेखक सिलवालले तिब्बती भूमिमा खुट्टा टेकेपछि पाठकलाई समेत तिब्बतको मनोरञ्जक यात्रा र संस्कृतिबाट परिचित गराउन सफलता पाएका छन् ।
लेख्छन्, ‘मेरो कोठा नम्बर ८०१ थियो । होटेलको प्रत्येक कोठाको नम्बर ८ बाटै सुरु थियो । विमलजीले बताएअनुसार चीनमा त्यो शुभाङ्क रहेछ । सन् २००८ मा चीनमा नै ओलम्पिक हुनुको त्यो पनि कारण थियो रे । अंग्र्रेजी अंक एट आकारमा डमरुजस्तै हुने हुनाले पनि त्यो शुभ भएको होला भन्दै शिवको वासस्थान कैलाश जाँदै गरेको हाम्रो सन्दर्भलाई जोडेर हामीले मजाक गर्यौँ, डमरु शिवकोे वाद्ययन्त्र हो ।’
चिनियाँ लिपिको ज्ञान नहुने पर्यटकका लागि होटेलमा खानाको परिकार (मेनु)को बेहोरा बुझ्न समस्या लेखकलाई पनि हुनु स्वाभाविक थियो । तर, केरुङको होटेलमा उनले नेपालकै किचेन ब्वायहरूले तयार पारेको खाजा खाएर अगाडिको यात्रा थाले ।
वाहन १२० को गतिमा जसै गुड्दै गयो, ॐ नमः शिवायको उद्घोष पनि चर्किंदै थियो ।
अन्ततः वाहन मानसरोवरको इन्ट्री प्वाइन्टमा पुग्यो, जहाँ चिनियाँ सरकारले व्यवस्था गरेको दुई रङका स्थानीय बस चढेर यात्रुहरू मानसरोवर परिक्रमास्थलमा पुगे ।
लेखकका अनुसार, मानसरोवर तथा कैलाश क्षेत्रको वातावरण र संस्कृतिको संरक्षणको निमित्त त्यस्ता गाडीको व्यवस्था गरिएको रहेछ । त्यहाँ पुगेपछि अशोकले मानसरोवरको ताल हेरे । सिसीमा जल भरे ।
तर, नुहाउन भने पाएनछन् । किनभने, तालको पवित्रता अक्षुण्ण राख्नका निमित्त यात्रुहरूलाई नुहाउन मनाही गरिएको रहेछ ।
संस्कृत शब्द मानस र सरोवरबाट मानसरोवर शब्दको निर्माण भएको रहेछ र यसको अर्थ हुन्छ– मनको तलाउ । भनिन्छ– पृथ्वीको सृष्टिकालमा ब्रह्माको मनमा सबैभन्दा पहिले यस सरोवरको उत्पत्ति भएकोले यो मानसरोवर कहलाउन थाल्यो ।
कैलाशको कोरा परिक्रमा पूरा गर्न ५२ किमि परिधिको यात्रा गर्नुपर्दो रहेछ, जुन पूरा गर्न ३ दिन लाग्दो रहेछ । यसरी १३ दिने यो यात्रा पूरा भएपछि मनमा कैलाशको सुन्दरता, बादल र सूर्यका दिनभरका खेलमा बदलिइरहने कैलाशका अनेक भाव र रङहरूलाई आँखाको क्यामेरामा खिच्दै अशोकको घर फिर्ताको कार्यक्रम बन्न थाल्यो ।
यसबीच उनले भेटे केही यस्ता विदेशी यात्रीलाई पनि जसले अन्य देश, त्यसका सहर र व्यक्तिको नामको उच्चारण सही गर्न सक्दैनन् । यात्राकालमा यस्ता विदेशी यात्री पनि भेटिए र भेटपछि हुने परिचय र वार्ताकालमा उनी तिनीहरूबाट नेपालको उच्चारण निपोअर, काठमाडौंको उच्चारण च्यादमान्दु एवम् पोखराको उच्चारण पोकालाको रूपमा भएको पाउँदथे ।
यात्राको प्रारम्भमा पासपोर्ट हराएर तनाव भोगेका अशोकलाई फर्कने बेलामा पनि डायरी हराउनाले पुनः उत्पन्न भएको तनावको चित्रण कम घतलाग्दो छैन । किनभने, त्यसमा उनले गरेका मानसरोवर यात्रासम्बन्धी अनेक महत्त्वपूर्ण टिपोटहरू रहेछन् ।
एकातिर डायरी हराउँदा उत्पन्न तनाव, बेचैनी र छटपटी र अर्कोतिर कैलाशको लेक प्रभावित, थकाउने एवम् गलाउने जिउ ! यस्तो परिवेशमा पनि विनोदप्रिय अशोक हाँस्दै, हँसाउँदै, जिस्किँदै, सबैको मन जित्दै र अप्प दीपो भवः को सन्देश आत्मसात् गर्दै समस्त टोलीका साथ घरको निम्ति प्रस्थान गर्न समर्थ भएछन् ।
तर, समीपाको रुखो व्यवहारले भने उनलाई यो सोच्न पनि बाध्य पार्दछ कि के मानसरोवरको यात्रा गर्दैमा मानिसको मनको विकार समाप्त हुन्छ ?
पुस्तक रोचक प्रसंगहरूले गर्दा नियात्राका अतिरिक्त रोचक कथा पनि हो भन्न सकिन्छ । किनभने, यसमा लेखकको लेखन शिल्पको सुन्दरता भेटिन्छ ।
ऐतिहासिक वृत्तान्त, हास्य–विनोदका प्रसंग, तिब्बतको संस्कृतिको झलक, इन्द्रेणीका रङसरह देखिने तिब्बतका पहाडहरूको सुन्दरताको वर्णन, मानसरोवरको वरिपरिको वृत्तान्त र परिक्रमा आदिको विवरणले पुस्तकलाई पठनीय त बनाएकै छ, साथै मानसरोवरको यात्रामा जान चाहना राखे पनि जान नसकेका र उमेर वा स्वास्थ्यका कारणले यात्रा गर्न अनुकूल नपरेका पाठकहरूका लागि एउटा मार्गदर्शक पुस्तकको यस्तो दस्ताबेज पनि बनाएको छ ।