site stats
बाह्रखरी :: Baahrakhari
खेल
टप एन्ड टी–२० शृंखला : नेपाल ४२ रनले पराजित

काठमाडौं । अस्ट्रेलियामा आजदेखि सुरु भएको टप एन्ड टी–२० शृंखलाको पहिलो खेलमा नेपालले नर्दन टेरिटोरीविरुद्ध ४२ रनको हार बेहोरेको छ । शुक्रबार डार्विनमा सम्पन्न खेलमा नर्दन टेरिटोरीले प्रस्तुत गरेको १७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो । 

नेपालका कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । यस्तै, गुल्सन झाले २६, कप्तान रोहितकुमार पौडेलले २३ र दीपेन्द्रसिंह ऐरीले १९ रन थपे । ओपनर आसिफ सेखले ११ रन जोडे । 

नेपाललाई सस्तैमा समेट्न नर्दन टेरिटोरीका म्यान ह्यामन्डले तीन विकेट लिए । केन रिचार्डसन र थोमस एन्ड्रुसले समान दुई विकेट लिए । हामिस मार्टिनको नाममा एक विकेट रह्यो । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको नर्दन टेरिटोरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । नर्दन टेरिटोरीको निम्ति डा’आर्सी सर्टले सर्वाधिक ५१ रन बनाए । सर्टले ३४ बलमा सात चौका र एक छक्का प्रहार गरे । ३४ रन कनाएका थोमस एन्ड्रयूज अविजित रहे । जोर्डन शिल्कले १९, कोनोर क्यारोलले १८, क्याडेल मक्मोहनले १२ र ज्याक वेदराल्डले ११ रन जोडे । 

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिएका थिए । सन्दीपले चार ओभरमा ३८ रन खर्चिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह, कप्तान रोहितकुमार पौडेल र सहाव आलमले समान एक विकेट लिए ।

शृंखलामा यो नेपालको पहिलो खेल हो । नेपालले अब अगस्ट १६ मा बंगलादेश ‘ए’सँग, अगस्ट १८ मा मेलबर्न स्टार्ससँग, अगस्ट १९ मा होबर्ट हुरिकेन्ससँग, अगस्ट २० मा मेलबर्न रेनेगाड्र्ससँग र अगस्ट २२ मा पाकिस्तान साहिन्ससँग खेल्ने तालिका छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्