काठमाडौं । विशेष अदालतले झापाको रतुवा खोला र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको मुद्दामा माओवादीका स्थानीय नेता गगन पुरीसहित नौजनालाई दोषी ठहर गरेको छ ।
विशेष अदालतले बुधबार गगन भनिने रेवतराज पुरीलाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद र २० लाख रुपैयाँ जरिबाना हुने फैसला गरेको हो ।
उनीसँगै नौजनालाई भ्रष्टाचारको आरोपमा कसुरदार ठहर गरेको छ । अदालत अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासको फैसलाले व्यक्तिको नाममा दर्ता भएको झण्डै ८९ विघाभन्दा बढी जग्गा जफत हुने फैसला गरेको छ ।
नौजना बाहेकका आरोपितहरूले सफाइ पाएका छन् । खोलाले धार परिवर्तन गर्दा बनेको टारलाई माओवादी नेता पुरीसहितले व्यक्तिको नाममा सारेर बिक्री गरेका थिए ।
अदालतले व्यक्तिको नामा लैजान सहयोग गर्ने नापी कार्यालयका आठजना कर्मचारीहरूलाई पनि दोषी ठहर गरेको छ ।
तत्कालीन नापी अधिकृतहरू शशिकान्त झा र रामदेव मण्डल सर्वेक्षकहरू सिताराम यादव, विन्देश्वर पञ्जियार, विष्णुदेव यादव, रामकुमार दास, गणेशकुमार धिमाल तथा अमिन ललितकुमार मण्डल दोषी ठहर भएका छन् । नासु रुद्रप्रसाद श्रेष्ठ सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेकोमा दोषी ठहर भएका छन् ।
कर्मचारीहरुलाई एक वर्षदेखि तीन महिना कैद सजाय र १८ लाखदेखि १८ हजारसम्म विगो र जरिबाना तिराउने आदेश भएको छ ।
आफूलाई थाहै नभइ आफ्नो नाममा जग्गा कायम गरिदिएको बयान दिने कतिपय आरोपितहरूले सफाइ पाएका छन् । जग्गा किन्नेहरूलाई भने जग्गा जफतबाहेक अन्य सजाय नहुने फैसला भएको छ ।