काठमाडौं । नेपाली सेनाले रणनीतिक महत्त्वका पाँचवटा सडक निर्माण गरिरहेको छ । यसमा कर्णाली करिडोरदेखि काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनासम्म छन् ।
नेपाली सेनाले सार्वजनिक गरेको विवरणअनुसार, हाल कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजना, उत्तर दक्षिण कोसी सडक खाँदबारी–किमाथांका, दार्चुला–टिंकर सडक आयोजना र काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनामा सेनाले काम गरिरहेको छ ।
१. कर्णाली करिडोर
कर्णाली करिडोर (लालिबगर–दुल्लीकुन्ना, घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्ड) सडक आयोजना २२.०५ किलोमिटरको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कूल १३.५ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको थियो ।
"आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म २.५ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भई कुल १६ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ," सेनाले सार्वजनिक गरेको विवरणमा भनिएको छ ।
२. बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजना
बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाको लम्बाइ ९२ किलोमिटर छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कुल ३८ किलोमिटर नयाँ ट्र्याक निर्माण र तीन किलोमिटर ट्र्याक स्तरोन्नति भएको थियो ।
आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा दुई किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएर कुल ४० किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको सेनाले जनाएको छ ।
३. उत्तर दक्षिण कोसी सडक खाँदबारी–किमाथांका
उत्तर दक्षिण कोसी सडक खाँदबारी–किमाथांका (च्याम्ताङ–घोङघप्पा खण्ड) सडक आयोजनाको लम्बाइ १०.५ किलोमिटर छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कुल ८.५ किलोमिटर नयाँ ट्र्याक निर्माण र ३.५ किलोमिटर ट्र्याक स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको थियो ।
"आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म २.०१ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भई कुल १०.५१ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ," सेनाले उल्लेख गरेको छ ।
४. दार्चुला–टिंकर सडक आयोजना
दार्चुला–टिंकर सडक आयोजनाको लम्बाइ ७९ किलोमिटर छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म यस आयोजनाको १३.४ किलोमिटर नयाँ ट्र्याक निर्माण र दुई किलोमिटर ट्र्याक स्तरोन्नति सम्पन्न भएको थियो ।
आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म दार्चुला–टिंकर सडक आयोजनामा १.८ किलोमिटर नयाँ ट्र्याक निर्माण र १.२ किलोमिटर ट्र्याक स्तरोन्नति सम्पन्न भई कुल १५.२० किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको भनाइ सेनाको छ ।
५. काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना
काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको २०८२ असार मसान्तसम्म समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत र वित्तीय प्रगति ४४ प्रतिशत छ ।
द्रुतमार्ग आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरूमध्ये हालसम्म प्याकेज नम्बर १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा छन् ।
"प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका साथै द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापनसम्बन्धमा निर्णय बाँकी रहेकाले खरिद प्रक्रिया सुरु हुन बाँकी रहेको । उक्त खण्डमा पर्ने जग्गाहरूको मुआब्जा वितरणका लागि सम्बन्धितसँग समन्वय भइरहेको," सेनाले जनाएको छ ।
द्रुतमार्ग आयोजनामा पर्ने सातवटा सुरुङमध्ये धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रू भइसकेको छ । अन्य सुरुङ निर्माण कार्य पनि भइरहेको छ ।
द्रुतमार्गअन्तर्गत ८९ वटा पुल छन् । तीमध्ये ८५ स्थानका पुलको निर्माणका लागि खरिद सम्झौता भई निर्माणको चरणमा रहेका छन् । ६ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ ।