site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीसँग चक्रे मिलनको गुनासो– तपाईंहरूले केक पनि राम्रोसित खान दिनुभएन

काठमाडौं । गुन्डागर्दीको आरोपमा पक्राउ परेका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले तेस्रोपटक म्याद थप गर्ने तयारी गरेको छ ।

साउन १६ गते आफ्नो जन्मदिन मनाउने क्रममा होहल्ला र सडक जाम हुने गरी स्कर्टिङ गरेको आरोपमा प्रहरीले उनीसहितलाई पक्राउ गरेको थियो । चक्रेसँगै जन्मदिन मनाउन पुगेका ४७ जनालाई काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित होटल साम्बालाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये १९ जनालाई अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर अनुसन्धान थालिएको छ ।

पहिलोपटक जिल्ला प्रशासन कार्यालयबाट सात दिनको अनुमति लिएको प्रहरीले शुक्रबार दोस्रोपटक तीन दिनको अनुमति लिएको थियो ।

तीन दिनको समय आज सकिने भए पनि भोलि (मंगलबार) चक्रेसहित १९ जनालाई तेस्रोपटक म्याद थपका लागि लगिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जानकारी दिए । चक्रेबारे जिल्ला प्रहरी परिसर भक्तपुरमा समेत उजुरी परेकाले गएको साता भक्तपुर प्रहरी र सरकारी वकिल कार्यालयले समेत उनको बयान लिएका थिए ।

ज्यान मार्ने उद्योगमा बयान दिएका चक्रेले भक्तपुरको एक रेस्टुरेन्टमा भएको घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । काठमाडौं प्रहरीले भने पक्राउ परेका सबै जनाको बयानको काम जारी राखेको छ ।

प्रहरी स्रोतका अनुसार, चक्रेले बयानका क्रममा प्रहरीले जन्मदिनको केक काट्दाकाट्दै पक्राउ गरेकोबारे दुखेसो पोखेका छन् ।

उनले प्रहरीलाई भनेका छन्, “धेरै हल्लाखल्ला भएको त थिएन, तर अलिकति ढिलो भएको हो । हामी म्यानेज गर्दै थियौँ, तर तपाईंहरूले उठाइहाल्नुभो, राम्रोसित केक पनि खान पाएनौँ ।”

प्रहरीले उनीहरूलाई राति १२ बजेपछि पक्राउ गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्