प्रवल अधिकारी
सबै लान्छु भन्दै कमायौ थुपार्यौ
कति ज्यान मार्यौ पछार्यौ लछार्यौ
बिनानोट बिट्टा तिमी घाट आयौ
हरे ब्यर्थ कात्रो र झोला सिलायौ ।१।
न कैले कसैको भलो क्यै चितायौ
धनै मात्र खोजी वय त्यो बितायौ
बिनास्वर्ण डल्ला तिमी घाट आयौ
हरे ब्यर्थ कात्रो र झोला सिलायौ ।२।
मिची खेत कित्ता र किल्ला सिमाना
कठै भाइ आफ्नै बनायौ निशाना
बिना भोजथाली तिमी घाट आयौ
हरे ब्यर्थ कात्रो र झोला सिलायौ ।३।
थुनी झ्याल ढोका घुस ल्याप्प चाट्यौ
सधैँ जाल बुन्दै छकायौ र ढाँट्यौ
बिना ठाँट–सज्जा तिमी घाट आयौ
हरे ब्यर्थ कात्रो र झोला सिलायौ ।४।
अबिच्छिन्न ढर्रा भजी देशभक्ति
लुटायौ खजाना दुही राज्यशक्ति
बिना बैङ्क खाता तिमी घाट आयौ
हरे ब्यर्थ कात्रो र झोला सिलायौ ।५।
लुटी देश खोक्रो खरानी बनायौ
भरी टन्न आन्द्रा फुलायौ अघायौ
बिना काल–पुर्जी तिमी घाट आयौ
हरे ब्यर्थ कात्रो र झोला सिलायौ ।६।
(भुजङ्गप्रयात छन्द – यययय गण)