आफ्ना बारेमा केही लेख्न मलाई गाह्रो काम लाग्छ । म किन लेख्छु ? कसका लागि लेख्छु ? र कहिलेसम्म लेख्छु ? कहिलेकाहीँ सोच्दछु । तर, यिनको कुनै ठोस निष्कर्ष मैले पाएको छैन ।
यसरी उद्देश्यहीन लेखेको नै भनौँ, आधा शताब्दी बढी भइसक्यो । यत्रा लामा वर्षहरूबीच कुन्नि म लेखक भए कि भइनँ ? एकजना ‘जेनुइन’ लेखक हुन सकेँ कि सकिनँ ? आफैँलाई प्रश्न गर्छु ।
यसको जवाफ मेरा असंख्य पाठकहरूले दिनुपर्छ, भविष्यमा आउने धेरै सुन्दर अनुहारहरूले दिनुपर्छ, म आफैँ केही भन्ने पक्षमा छैन । म केमा बाँच्छु ? सो पनि म अहिले भन्न सक्ने अवस्थामा छुइनँ ?
र, कुन पात्रपात्राले परशु प्रधानलाई सम्झनयोग्य बनाउँछन् ? त्यो पनि म जान्दिनँ । म किन लेख्छु, किन आफूलाई लेखक भन्न मन पराउँछु ? किन यति कठिन प्रश्न मलाई ? कहिलेकाहीँ म सोच्दछु ।
धेरै वर्षअघि आफ्नो प्रेरणाबारे मैले यस्तै केही लेखेको थिएँ, “ट्याम्केडाँडाका अस्ताउने सूर्य, बाढी लिएर आउने पिखुवा खोला, रङहरूले डुबेको हाटमेला, पिताको सधैँको अनुत्तरदायी र रक्सीले लट्ठिएको अनुहार, मौन निमन्त्रणा दिने केही आँखाहरू, यौटा खालीपन, यौटा विद्रोह र यौटा आफूलाई अभिव्यक्त गर्ने सिंगो इच्छा, यौटा सशक्त माध्यमको खोजी...” – यही मेरा लेखनको बाध्यता थियो ।
मलाई लाग्छ, लेखक बनाइँदैन, लेखकको निर्माण हुँदैन । बरु, लेखक जन्माइन्छ अझ भनौँ लेखक जन्मछन् । यौटा दैवीशक्ति अथवा यौटा जन्मजात गुणले कोही पनि लेखक हुन्छ ।
उसको शिक्षा, वरिपरिको वातावरण, उसको भोगाइ र साधनाले उसको लेखकीय व्यक्तित्वको विकाससम्म हुन्छ । म लेखक जन्मेको हुँ वा बनाइएको मात्र हुँ यो पनि भन्न सक्ने अवस्थामा म छैन, माफ पाऊँ ।
मैले आफ्नो दुःखलाई सिउँडीको झ्याङसँग कुनै दिन दाँजेको थिएँ ।
कहिलेकाहीँ जीवनमा धेरै निराश हुइँदो रहेछ । वरिपरि अन्धकार हुँदो रहेछ र आफूले आफैँलाई सान्त्वना दिनुपर्दो रहेछ । मनभरि आँसु लिएर पनि बाहिर मुस्काउनुपर्दो रहेछ । काँडाहरूका बीच उभिएर पनि फूल फुल्ने सपना देख्न बाध्य हुनुपर्दो रहेछ ।
२०२५–२६ तिरको कुरा हो, त्यसै बेला आफ्ना सारा इतिहासले धोका दिएको छ भन्ने लाग्थ्यो । अनि, आफैँ म आफूसित प्रश्न गर्थें, ‘तँ किन बाँचिरहेछस् ? त मर्न सक्तैनस् ?’
विद्यार्थी अवस्थादेखि लेख्नु अथवा अभिव्यक्ति मेरो दुःखसुखको साथी थियो । जब जब मुड अफ हुन्थ्यो, आफ्ना अनुभूतिहरूलाई कागजमा उतारेर म सन्तोषको सास फेर्थें ।
तत्कालीन भोजपुरको वातावरणमा (२०१३–१४) म धेरै सजग थिएँ र कविता, कथामा आफ्ना विवशता र बाध्यतालाई पोख्थेँ । त्यहाँको हरेक कुराले मलाई भित्रसम्म छुन्थ्यो र राम्रोसँग हल्लाएर जान्थ्यो ।
धरानदेखि बोकाएर खानुपर्ने चामल, तेल, मट्टीतेल र जिरामरिच । घाम कहिले अस्ताउला र रक्सी खान सजिलो पर्ला भन्ने युवा समाज, विसंगति, निराशा, कुण्ठा र त्यसबाट आएको अव्यक्त विद्रोह मेरा कविता र कथा थिए ।
म आफ्ना रचनाहरूमा पहाडका चुलीहरूसित धेरै अंशमा गाँसिएको छु, भाग लगाइएको छु र बाँडिएको छु । तिनका सपनाहरूमा म धेरैपटक व्युँझेको छु, विपनाहरूसित रोएको छु र तिनका दुःखलाई नजिकैबाट आत्मसात् गरेको छु ।
लेखकको परम्परागत परिभाषालाई बदल्नुपर्छ भन्ने सोचाइ छ । लेखक तपस्वी हो, महात्मा हो र उसले समाजबाहिर बसेर लेख्नुपर्छ भन्ने हाम्रो परम्परागत संस्कारको म विरोधी हुँ । म लेखकलाई समाजभित्रै देख्न चाहन्छु । समाजसँगै बसेर रोएको हेर्न चाहन्छु ।
समाजको आँसु र हाँसोमा मिसिएको, समाजभित्रै बसेर विद्रोह गरेको महामानवको रूपमा पाउन चाहन्छु । समाजबाट अलग राखेर लेखकलाई खालि आदर्शका, भावुकताका, रोमाञ्चकता र रोमान्सका कुराहरू लेखाउन म चाहन्नँ ।
आफ्नो कलाको सवल माध्यमले लेखकले समाजलाई बदल्नुपर्छ, चेतनालाई परिष्कृत पार्नुपर्छ, यौटा नयाँ धारणा र मान्यताको विकासमा अगुवा हुनुपर्छ भन्ने मेरो सोचाइ हो, छ ।
परशु प्रधान यौनप्रधान भनेर बरोबर चर्चामा आउँछु । मानवीय जीवनको एउटा महत्त्वपूर्ण पक्ष यौन पनि हो, यसमा दुईमत छैन । हामी यौनको विकृतिबाट मुक्ति चाहन्छौँ र यसलाई सहज रूपमा स्वीकार्न चाहन्छौँ ।
यस शारीरिक आवश्यकतालाई हामीले नचाहिँदो ढंगले बढी महत्त्व दिनु हुन्न भन्ने मेरो दृष्टिकोण छ । यौनमा कथा नहोस्, तर कथाभित्र यौन हुनसक्छ । किनभने, यौनविना मानवीय जीवनको कल्पनासम्म पनि गर्न सकिन्न भन्ने म ठान्दछु ।
नेपाली साहित्यमा कथा, कविता वा निबन्ध जेको माध्यमले होस्, नछोइएका वा नलेखिएका विषयहरू थुप्रै छन् भन्ने मलाई लाग्छ ।
नेपाल एउटा सानो संसार हो र यहाँ विभिन्न रितिस्थिति, जातजाति, भाषासाहित्य, पात्रपात्रा, सवल–निर्वल चरित्रहरू छन् । यहाँ हिमाल छ, तराई छ, जंगल पाखा र भीर छ ।
यहाँको जनजीवन, सामाजिक स्थिति, रहनसहन र वातावरण फरकफरक र विशेषतायुक्त छ । सबलाई हामीले हाम्रो वाङ्मयमा ल्याउन सकेका छैनौँ । केही सीमित जाति, गाउँघर, समान चरित्र र केही सीमित सहरहरू ।
गाउँ र सहरको दूरी मात्र वाङ्मयमा आउनु हाम्रो प्रतिभाको दुर्बलता हो भन्ने म ठान्दछु । केही नयाँ विषयवस्तु, केही नयाँ कुराहरू, केही नयाँ चरित्रहरूलाई हामी बाहिर ल्याऊँ, प्रकाशमा ल्याऊँ – यो मेरो इच्छा हो ।
मैले नेपाली साहित्यको सेवा गरेको ५० वर्षभन्दा बढी भयो । कुनै मौका, प्रतिष्ठा, पुरस्कार वा लाभका लागि मैले कहिल्यै लेखेको होइन । आफूलाई अभिव्यक्त गरौँ, आफूलाई पोखौँ, आफूलाई कहीँ कतै मूर्तरूप दिऊँ – यही मेरो इच्छा थियो र भविष्यमा रहनेछ ।
मलाई लेखक हुनुपरेकोमा विसन्तोष छैन र लेखक भएँ भनेर सन्तोष गर्ने स्थिति पनि छैन । कथामा केही नयाँपन दिऊँ, केही नयाँ किसिमको प्रेरणा वा उत्प्रेरणा दिऊँ, यौटा नयाँ किसिमको दिशाबोध होस् भन्ने म ठान्दछु ।
आजभोलि मैले कम लेखेँ, राम्रो लेखूँ, स्तरीय लेखूँ, गहिरिएर लेखूँ भन्ने कुरामा तपाईंहरूको उत्साह र रुचि हुनसक्छ । केही वर्षदेखि अथवा केही समयदेखि कुनै विषयले चरित्रले प्रसंगले वा कुराले मलाई छोएको हुन्छ । अथवा, कुनै विषयले चरित्रले मलाई करेन्टले झैँ तानेको हुन्छ ।
त्यसलाई धेरै वर्षसम्म, समयसम्म या अवधिसम्म म भित्रभित्रै खेलाइराखेको वा पकाइराखको वा उमालिराखेको हुन्छु । अनि... अनि एकदिन एकक्षण वा एकसमय आउँछ, म तिनलाई बाहिर निकाल्न अधैर्य हुन्छु र कागजमा तिनलाई सरासर नअडी उतार्छु ।
म घरमा, अफिसमा जहाँ जुनसुकै समयमा पनि लेख्न सक्छु । अझ म टीभी हेर्दै लेख्छु, रेडियो सुन्दै लेख्छु । प्रत्येक स्रष्टा मेरो श्रद्धाको पात्र हुन्छ । मेरो मन पर्ने देवता सिर्जनशील लेखक हो र सिर्जनाको धनी व्यक्तित्व हो ।
मभन्दा अघिका लेखकहरूलाई म श्रद्धाका दृष्टिले हेर्छु भने समकालीन साथीहरूलाई माया र स्नेहले । पछिका पुस्ताहरूलाई उत्साह र प्रेरणा दिने दृष्टिले हेर्छु ।
आजभोलिका कथामा जुन नयाँ प्रयोग, उपमा, दिशाबोध, दृष्टिकोण वा शैलीको विकास आएको छ, ती सबै मलाई मन पर्छन् । म ती सबै पढ्ने प्रयास गर्छु । तिनलाई सम्झने र बुझ्ने कोसिस गर्छु । नयाँ पुस्ताको लेखनमा म उत्साहपूर्वक सहभागी हुन चाहन्छु ।
म आफूलाई केका रूपमा पाठकहरूका अगाडि प्रस्तुत होऊँ वा चिनाऊँ ? यौटा मूलभूत समस्या मेरा लागि यो पनि हो । साहित्यका विभिन्न क्षेत्रमा वा विधामा कलम चलाइआएको छु । अर्थात्, कविता, कथा, यात्रा, साहित्य बालकथा, बालकविता, उपन्यास, अन्तर्वार्ता आदि सबै विषयमा लेख्दै आइरहेको छु ।
यिनमध्ये कुनमा म बढी सशक्त छु वा बढी पहिचान दिन सक्छु ? यौटा समस्याकै रूपमा पाउँछु । यसबारे म आफैँ केही भन्न सक्ने अवस्थामा छैन ।
तर, मलाई लाग्छ, म सर्वप्रथम कथाकार हुँ र त्यसपछि मात्र केही हुँ । ‘केही अनुहार, केही क्षण’ अन्तर्वार्तासंग्र्रहमा उत्तम पुरस्कारबाट २०५१ सालमा सम्मानित हुँदा आफुले विसंगत स्थिति भोग्नुपरेको कुराले लेखेको थिएँ ।
म आफ्ना पाठकहरूलाई सोध्न चाहन्छु– तपाईंहरू मलाई केका रूपमा हेर्नुहुन्छ ? जागिरे परशु प्रधान कि साहित्यकार परशु प्रधानका रूपमा ? किनभने, कहिले साहित्यकार परशु प्रधानले जागिरे परशु प्रधानलाई खाएको छ । दुईबीच तादात्म्य मिलाउन मैले सकेको छैन । यही मेरो कमजोरी र विवशता हो ।
मलाई तपाईंहरू क्षमा दिनुहोस्, मेरो जीवनको ऊर्जाशील समयमा साहित्यलाई ‘फुलटाइम’ दिन सकिनँ । कुनै दिन म कर्मचारी थिएँ, तर लगभग बीस वर्षयतादेखि सेवानिवृत्त भएर सडक नापिरहेछु । हेरूँ, भोलि के हुन्छ ? यद्यपि, वर्तमान सन्दर्भमा केही कुराहरू लेख्न आवश्यक ठान्दछु ।
देशमा दोस्रो जनआन्दोलन भएर गणतन्त्र स्थापना भएको केही वर्ष भएको छ । यौटा खुला र स्वतन्त्र वातावरण आएको छ । लेखक आफ्नो लेखनका निमित्त स्वतन्त्र छ, निर्भीक छ र बलवान् छ ।
जे व्यवस्था आए पनि मानवीय विषयहरू मानवीय प्रसंगहरू उही हुन् र त्यसको अन्त्य छैन । नत्र भने अमेरिका वा युरोपका लेखकहरूले के लेख्ने ? टीभीको त्यत्रो प्रचारप्रसार भएर पनि साहित्य लेखन नमरेर झन् किन महत्त्वपूर्ण र जिम्मेवारपूर्ण बन्दै गएको छ ? किन लेखक कविहरूको सम्मान र इज्जत बढ्दै गएको छ ?
कारण त्यही हो, मानवीय कुरा मर्दैन, शाश्वत र मूल्य मान्यताहरू मर्दैन, दृष्टिकोण र विचारहरू कहिल्यै मर्दैन । यही दृष्टिले हामीले लेख्दै जानुपर्छ । सिर्जनारत रहनुपर्छ, र यौटा सिंगो नेपाल र नेपालीलाई विश्वसामु उभ्याउनुपर्छ भन्ने मेरो सोचाइ छ ।
किनभने, साहित्य मर्दैन, सिर्जनशीलता मर्दैन र शाश्वत लेखक पनि कहिल्यै मर्दैन । बहुदलीय व्यवस्थामा पार्टीसम्बद्धताका कुराहरू आएका छन् । तर, सिस्टम अर्थात् व्यवस्थाको विरोधी चरित्रको लेखक स्वयम् एउटा सत्ता हो, यौटा सवल पार्टी हो । उसलाई अर्को पार्टीको आवश्यकता होला भन्ने म ठान्दिनँ ।
प्रजातान्त्रिक आदर्श र त्यसका मर्यादालाई अक्षरशः पालना गर्ने सरकारको पक्षमा छु म । पार्टीभित्र लेखकीय अहम मर्छ भन्ने मेरो दृष्टिकोण छ ।
अब कथाले मान्छेसित सिधा संवाद गर्न सक्नुपर्छ, मान्छेभित्रको मनस्थितिलाई प्रत्यक्ष ल्याइदिन सक्नुपर्छ । किनभने, आजको कथा अलिकति कविता हो, अलिकति निबन्ध, अलिकति रिपोर्ट र अलिकति चरित्र हो ।
वास्तवमा मान्छेलाई संक्षेपमा सरल किसिमले हेर्न सक्ने आजको सशक्त विधा कथा नै हो भन्ने मलाई लाग्दछ । कथा सिर्जनाको हाँकपूर्ण यस क्षेत्रमा आजको नेपाली कथालाई ‘ड्रइङ रुम’मा मात्र सीमित नराखी ‘किचेन’ र ‘बेडरुम’मा पनि सक्षमताका साथ तपाईं हामीले प्रवेश गराउन सक्नुपर्छ । आजको मान्छेको सम्पूर्ण अनुहारलाई समेट्न सक्नुपर्छ । लैंगिक भेदको सोचाइलाई पन्छाएर नेपाली कथाको क्यानभासमा सवलताका साथ उतार्नुपर्छ । यसलाई हामीले मनन् गरौँ, सबैमा मेरो यही अनुरोध छ । यही दृष्टिले मेरा कथोपन्यासहरू आइरहेका हुन् ।
(प्रसिद्ध आख्यानकार परशु प्रधानको संस्मरणात्मक कृति ‘जिन्दगीका मोडहरू’बाट ।)