काठमाडौं । भारतको उत्तराखण्ड प्रदेश पौडी गढवाल जिल्लाको बागोडमा साउन २१ गते आएको बाढी–पहिरोपछि पाँचजना नेपाली हराइरहेका छन् । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले पाँचजना नेपाली हराइरहेको पुष्टि गरेको हो ।
“उत्तराखण्ड प्रदेश पौडी गढवाल जिल्लाको बागोडामा ६ अगष्टमा गएको बाढी पहिरोपछि पाँचजना नेपाली हराइरहेका छन्,” नेपाली दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “घाइते भएका चारजना नेपालीहरूमध्ये उपचारपछि तीनजना घर फर्केको र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ ।”
उक्त बाढी पहिरोपश्चात् त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि दूतावासले निरन्तररूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरू तथा भारत सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
यही साउन २० गते भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लाको धरालीमा गएको बाढी–पहिरोका कारण भएको धनजनको क्षतिबारे उत्तराखण्ड प्रहरीले दूतावासलाई जानकारी उपलब्ध गराएको छ ।
दूतावासका अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ । घटनास्थलबाट दुईजनाको शव प्राप्त भएको छ ।
“जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको समेत दूतावासलाई जानकारी गराइएको छ,” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।