site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रतिवेदनको पर्खाइमा शिक्षक, महासंघ भन्छ– हाम्रा माग तोडमोड गरियो
फाइल तस्बिर ।

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा आफूले उठाएका मुद्दा तोडमोड गरिएको आरोप लगाएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन संशोधनसहित पारित गरेपछि महासंघले प्रतिक्रिया जनाएको हो ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरूसँग सहमति भएका मागलाई तोडमोड गरिएको बताइन् । “महासंघसँग भएका माग, मुद्दाहरू तोडमोड भएको अनुभूति भएको छ । सामाजिक सञ्जालबाट हिजो उपसमितिको प्रतिवेदन पास गरेको थाहा पाइयो । नौबुँदे सहमतिमा भएका सब माग मुद्दा समेटिएर आउनुपर्छ भन्ने स्पष्ट धारणा महासंघको हो । हामी आधिकारिक प्रतिवेदनको पर्खाइमा छौँ,” उनले बाह्रखरीसँग भनिन् ।

सरकार र शिक्षकबीच भएको नौबुँदे सहमतिअनुसार विधेयक जारी हुनुपर्ने अडान महासंघको छ । बिहीबार बसेको महासंघको बैठकले भदौ दोस्रो सातादेखि आन्दोलन थाल्ने घोषणा गरेको छ ।

“हामीले भदौ ३, ४ गते केन्द्रीय समितिको बैठक बोलाएका छौँ । त्यसअघि आन्दोलन समितिले कसरी अगाडि बढ्ने भनेर खाका तयार गर्छ । सो खाका पूर्ण समितिमा पेस भएपछि समितिले पास गर्छ । त्यसपछि मात्रै आन्दोलनका कार्यक्रम घोषणा गर्छौं,” उनले भनिन् ।

बिहीबार बसेको शिक्षा समितिको बैठकले उपसमितिको प्रतिवेदन परिमार्जन गर्ने सहमतिसहित पारित गरेको छ । जसमा तीन प्रकारले शिक्षकहरूको बढुवा गर्ने सहमति जुटेको छ । त्यस्तै, कार्यसम्पादन मूल्यांकनको ९० नम्बर ८० मा झार्ने सहमति भएको छ । 

समितिमा शिक्षक प्रधानाध्यापक नियुक्त भएपछि स्वतः शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने बुँदामा सहमति जुटेको छ ।

निजी विद्यालयले दिनुपर्ने पूर्ण छात्रवृत्तिमा आवासीय सुविधा पनि समावेश गर्नुपर्ने विषयमा सहमति जुट्न सकेको छैन । त्यस्तै, प्रारम्भिक बाल विकास शिक्षा (ईसीडी) पढाउनेहरूलाई शिक्षक मान्ने वा नमान्ने भन्ने विषयमा विवाद कायमै छ ।  

 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्