काठमाडौं । भारतको उत्तराखण्डको उत्तरकाशीस्थित धराली गाउँमा आएको बाढीमा परी मृत्यु हुने र उद्धार गरिएको सूचीमा हालसम्म नेपालीको नाम छैन । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतले दिएको पछिल्लो अपडेटमा मृत्यु हुने र उद्धार गरिएको सूचीमा नेपाली नागरिकको नाम परेको छैन ।
“घटनास्थलमा जतिजनाको मृत्यु भएको पुष्टि भएको छ र उद्धार गरिएको छ, त्यो सूचीमा नेपालीको नाम छैन,” नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले बाह्रखरीसँग भने, “खोज तथा उद्धार कार्य जारी छ ।”
उत्तराखण्डको धराली गाउँमा यही साउन २० गते अचानक ठूलो बाढी आएको थियो । उक्त बाढीमा हालसम्म पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनामा नौ भारतीय सैनिकसहित ५० जनाभन्दा बढी बेपत्ता भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
भारतीय मिडियाहरूका अनुसार बाढीपछि धरालीबाट ७० जना, हर्षिलकाबाट १९० जना र गंगोत्रीबाट २७४ जनाको उद्धार गरिएको छ ।
धराली बाढीमा नेपाली पनि परेको आशंका गरिएको छ । कामको लागि धरालीमा रहेका २२ जना नेपाली सम्पर्कविहीन छन् । धादिङका चार, बर्दियाका चार, जुम्लाका एक र जाजरकोटका १३ जना सम्पर्कविहीन रहेका छन् ।
“धेरै भवनहरू बाढीले पुरिएका छन् । पुरिएका स्थानबाट शवहरू झिक्ने काम बाँकी छ । हालसम्म नेपालीका सम्बन्धमा अप्रिय सूचना प्राप्त भएको छैन,” थापाले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित भएको बताएका छन् ।
“बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ । उनीहरूको उद्धारको लागि दूतावासमार्फत तत्काल कुटनीतिक छलफल भएको थियो,” प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु ।”
परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको बताएकी छन् ।
बेपत्ता भएका नेपालीको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको उनले जनाएकी छन् ।
“नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु,” परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्पर्कविहीन भएका नेपालीको खोजीको लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय सम्बन्धीत निकायसँग समन्वय गरिरहेको बताए ।
“हामी नयाँ दिल्लीस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा छौँ र दूतावास पनि भारतीय सरोकारवाला निकायसँग समन्वय गरी काम गरिरहेको छ,” प्रवक्ता क्षेत्रीले भने ।
भारतीय मिडिया दैनिक भास्करका अनुसार विपद् व्यवस्थापन सचिवले गंगोत्री र वरपरका क्षेत्रमा करिब ४०० जना अलपत्र परेको बताएका छन् । अहिलेसम्म २७४ जनालाई त्यहाँबाट हर्षिल ल्याइएको छ । हर्षिलबाट उत्तरकाशी र देहरादूनमा सबैलाई ल्याउने काम भइरहेको छ ।
उत्तराखण्ड राज्य सरकार, जिल्ला प्रशासन, विपद् व्यवस्थापन विभाग र अन्य एजेन्सीहरू उद्धार र राहत कार्यमा संलग्न छन् ।
साउन २० गते दिउँसो १ : ४५ बजे उत्तरकाशी जिल्लाको धरालीमा ‘क्लाउड ब्रस्ट’ भई गंगोत्रीको पहाडबाट बग्ने खीर गंगा नदीमा बाढी आएको भारतीय मिडियाले उल्लेख गरेका छन् । तीव्र गतिमा आएको बाढीले ३४ सेकेन्डमा धराली गाउँलाई पुरेको थियो ।