काठमाडौं । एएफसी यू–२० एसियन कप महिला छनोटको पहिलो खेलमा १–१ को बराबरीमा रोकिएपछि नेपाली टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीले भुटानी टिमलाई हल्का रूपमा लिएको बताएका छन् ।
नेपालले छनोटको पहिलो खेलमा बुधबार (साउन २१) घरेलु टिम भुटानसँग बराबरी खेल्दै अंक बाँडेको थियो । खेलपछि प्रशिक्षक गुरुङले साफ महिला यू–२० च्याम्पियनसिपको नतिजाका कारण नेपाली खेलाडीले भुटानलाई हल्का रूपमा लिएको बताएका हुन् ।
“साफ यू–२० च्याम्पियनसिपको नतिजाका कारण हाम्रो खलाडीले भुटानी टिमलाई हल्का रूपमा लिए । पहिलो मिनेटमै गोल गरेपछि झनै खेलाडीहरूले सहज रूपमा लिए । यसैकारण हामी रोकिन पुग्यौँ,” प्रशिक्षक गुरुङले भने ।
गएको महिना बंगलादेशमा आयोजित यू–२० साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई पहिलो खेलमा ६–१ ले पराजित गरेको थियो । त्यति बेला दोस्रो खेलमा नेपालले ८–० को जित निकालेको थियो ।
एएफसी एसियन कप छनोटमा नेपालले अब शुक्रबार (साउन २३) साउदी अरेबियासँग खेल्ने तालिका छ ।