काठमाडौं । पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हुन् ।
बझाङस्थित जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ सुंगाला र बालुवाटारमा राति परेको वर्षाका कारण आज बिहान साढे ५ बजे सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
दाङदेखि सल्यान हुँदै सुर्खेत जाने सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।
बिहान साढे ६ बजे सल्यान कालिमाटी गाउँपालिका–३ ढोरेनीस्थित दाङदेखि सल्यान हुँदै सुर्खेत जाने सडकखण्डमा सडकमाथिबाट रुख ढलेर बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस्तै, कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक पनि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे, वडा नम्बर–२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको छ ।
रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोला र वडा नं–५ को बादरेभीरमा बाढीपहिरोका कारण गएरातिदेखि उक्त सडकसमेत पूर्ण रुपमा अवरुद्ध बनेको छ ।
उक्त क्षेत्रमा अहिले पनि लगातार रुपमा वर्षा भइरहेका कारण वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।