site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी तीव्र

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी तीव्र रूपमा अगाडि बढाइएको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहने नाइमाले जनाएको छ ।

१५ दुईपांग्रे, १५ चारपांग्रे र पाँच व्यावसायिक नयाँ सवारीसाधनहरू सार्वजनिक गरिने यस प्रदर्शनीस्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था, सुरक्षा तथा आपतकालीन सेवाको समुचित व्यवस्था मिलाइने नाइमाले जनाएको छ ।

“यो पटकको एक्स्पोमा उपभोक्ताहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न हामीले नेपालमै पहिलोपटक डबल प्लाईसहितको अन्तर्राष्ट्रियस्तरको संरचना निर्माण गर्दैछौँ,” मिडिया स्पेस सोलुसनका संस्थापक श्रीजल भट्टराईले भने । 

प्रदर्शनीको प्रवेश टिकट खल्ती बाई आईएमई एपमार्फत अग्रिम खरिद गर्न सकिन्छ । यसका साथै सधैँभरी पार्किङ समस्याले सताउने प्रदर्शनीस्थलमा यसपटक भने पार्किङ व्यवस्थाको लागि नाइमाले पठाओसँगको सहकार्यमा भृकुटीमण्डम गन्तव्य हुने राइडमा ३० प्रतिशतसम्मको छुट व्यवस्था गरेको छ ।

नाइमाको आयोजनामा हुन लागेको यो एक्स्पो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्