काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्ने नेपाली टोलीको केन्द्रीय छनोट दुई दिन पछि सरेको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै केन्द्रीय छनोट दुई दिनपछि सरेको जनाएको हो ।
“उक्त प्रतियोगितामा सहभागी हुनको निम्ति संघले नेपाली राष्ट्रिय यू–१७ फुटबल टिमका खेलाडी छनोट गरी राष्ट्रिय टिम तयारी तथा प्रशिक्षण सञ्चालन गर्न लागेको हुँदा एन्फामा आबद्ध जिल्ला फुटबल संघहरू र प्रदेश फुटबल संघबाट विभिन्न मितिहरूमा छनोट भएका खेलाडीहरूको यू–१७ पुरुष खेलाडी केन्द्रीय छनोट कार्यक्रम मिति २०८२ साउन २२ गतेबाट हुने भनि पत्राचार गरिएकोमा प्रविधिक कारणले उक्त मिति परिर्वतन भई तपशिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकोले प्रदेशबाट छनोट भएका खेलाडीहरूलाई उक्त छनोट कार्यक्रमको जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु,” एन्फाले जिल्ला शाखाहरूलाई पठाएको पत्रमा उल्लेख छ ।
एन्फाका अनुसार, अब छनोट आउँदो साउन २४ देखि २७ गतेसम्म हेटौँडाको गौरीटार रंगशालामा हुनेछ ।
नेपालले साफ यू–१७ पुरुष च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल आगामी भदौ ३० गते (सेप्टेम्बर १५ गते) हुने तय भएको छ । नेपालले दोस्रो खेल बंगलादेशसँग असोज २ गते (सेप्टेम्बर १८) खेल्नेछ ।
प्रतियोगितामा नेपालसँगै समूह ‘ए’मा श्रीलंका र बंगलादेश छन् । समूह ‘बी’मा भारत, पाकिस्तान, माल्दिभ्स र भुटान छन् ।