काठमाडौं । देशका धेरै स्थानमा शुक्रबार (साउन १६)यता पानी परिरहेको छ । केही स्थानमा ‘भारी’ वर्षा भएको छ । थोरै स्थानमा शनिबार (साउन १७) राति ‘धेरै भारी’ वर्षा पनि भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार राति उदयपुरको गाईघाट, झापाका दमक र अनारमनीमा धेरै भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
पछिल्लो १२ घण्टा (आइतबार बिहान ८ बजेसम्म)को अवधिमा सबैभन्दा धेरै पानी गाईघाटमा १३२ मिलिमिटर परेको छ । अनारमनीमा १२२, दमकमा ११२ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
अरू धेरै स्थानमा ‘हल्का’देखि ‘मध्यम’ वर्षा भएको छ । “पछिल्लो १२ घण्टामा मापन भएको वर्षाको तथ्यांकाअनुसार देशको धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा मापन भएको छ,” महाशाखाले भनेको छ, “गए राति गाईघाट, दमक, अनारमनी केन्द्रहरूमा धेरै भारी वर्षा भएको छ ।”
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
यस्तै, ‘केही’ स्थान भन्नाले ३० देखि ५० प्रतिशत क्षेत्रफल हुने महाशाखाले जनाएको छ । महाशाखाले १० प्रतिशतभन्दा कम क्षेत्रफलाई ‘एक–दुई’ स्थान भन्छ । ‘थोरै’ स्थान भन्नाले १० देखि ३० प्रतिशत क्षेत्रफल हो । ५० देखि ८० प्रतिशत क्षेत्रफलाई ‘धेरै’ स्थान भनिन्छ । ८० प्रतिशतभन्दा बढी क्षेत्रफलाई ‘अधिकांश’ स्थान भनिने महाशाखाले जनाएको छ ।

