इलाम । इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजंघा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलीब्रिज निर्माण गरिएको छ । बेलीब्रिज निर्माणपश्चात् मेची राजमार्गको विकल्प खुलेको छ ।
इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलमा पहिलोपटक बेलीब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा–इलाम–पाँचथर–ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधनका निम्ति छोटो र सुरक्षित बाटोको विकल्प खुला भएको हो । सागर/सुभारम्भ/एरिसा जेभीले बेलीब्रिज निर्माण गरेको हो ।
पुल नहुँदा विगतमा यात्रीले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । विशेष गरी वर्षायाममा सडक पूर्ण रूपमा बन्द हुने गर्थ्यो । संघीय सरकारको एक करोड ३५ लाख रुपैयाँमा बेलीब्रिज निर्माण गरिएको हो । बेलीब्रिज ४८.६ मिटर लम्बाइको भएको सडक डिभिजन इलामका सूचना अधिकारी एवं इन्जिनियर अर्जुन घिमिरेले बताए ।
इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चहानले बेलीब्रिज निर्माणसँगै झापा–इलाम सवारी आवागमनमा सहज भएको बताए । “पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर वर्षायाममा पूरै बन्द हुने गर्दथ्यो,” उनले भने, “बेलीब्रिज निर्माणले बाह्रै महिना सवारी आवागमनमा सहज हुने भएको छ ।”
गत वर्ष पहिरोका कारण दुई साता राजमार्ग बन्द हुँदा यात्रीले ठूलो सास्ती खेपेका थिए । त्यति बेला वैकल्पिक सडक नहुँदा ताप्लेजुङ, पाँचथर र इलामबाट झापा झरेका यात्रीले माईखोलावारिबाट पारिसम्म पैदल हिँड्नुपरेको थियो । झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आएका यात्री पारिबाट वारिसम्म पैदल हिँडेर गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्न बाध्य भएका थिए ।
पुवाखोलामा बेलीब्रिज निर्माण गरिएसँगै मेची राजमार्गको गोलाखर्कखण्डबाट सिधै केचना–कञ्चनजंघा सडक प्रयोग गर्दा ४७ किलोमिटरको दूरीमा झापाको बिर्तामोड पुग्न सकिन्छ । मेची राजमार्ग प्रयोग गर्दा ८३ किलोमिटर दूरीमा मात्र बिर्तामोड पुग्न सकिन्छ ।
मेची राजमार्गको विकल्पका रूपमा लिइएको उक्त सडकअन्तर्गत इलामखण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर बाटो कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटरखण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको सडक डिभिजन प्रमुख एवं इन्जिनियर पवन भट्टराईले बताए । रासस