आत्मबोध
(निबन्धकृति : भागवत खनाल)
भागवत खनाल पछिल्लो समयका सक्रिय सर्जक हुन् । कथा, कृति समीक्षा र निबन्ध विधामा निरन्तर कलम चलाउँदै आएका खनालको केही समयअघि प्रकाशित निबन्धकृति हो, ‘आत्मबोध’ । उनको यसअघि ‘बाबा, मेरो पीआर आयो’ कथाकृति प्रकाशित छ ।
निबन्धकृतिको प्रकाशकीयमा दुर्गाप्रसाद खनालले लेखेका छन्, “पछिल्लो समय भाइका (भागवतका) रचनाहरू राष्ट्रिय दैनिक पत्रिका, सामयिक प्रकाशन र विभिन्न अनलाइन माध्यमबाट प्रकाशित हुन थाले । विलम्बसाथ नै भए तापनि भाइ आफ्ना रचनाका माध्यमबाट सार्वजनिक रूपमा मुखरित हुन थालेको देख्दा खुसी लाग्यो ।”
पुस्तकको ब्लर्बमा राजीव घिमिरेले लेखेका छन्, “यस पुस्तकमा संगृहीत निबन्धहरू लेखकको अनुभवका ऐना बनेर प्रस्तुत भएका छन् । यी रचनाहरूले पाठकलाई आफूभित्रको संसारका नदेखिएका पाटाहरूलाई देख्न र आफ्नो निजी तत्वको विपुलतालाई आत्मसात् गर्न प्रेरित गर्नेछ । ... ।”
यो कृतिभित्र खनालका ३० निबन्ध पढ्न सकिन्छ ।
दुर्गाप्रसाद खनालद्वारा प्रकाशित २२६ पृष्ठको यो पुस्तकको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।
०००
मनका तरङ्ग
(काव्य : अलका मल्ल)
कवि अलका मल्लद्वारा लिखित कविता, गीत र गजलहरूको सँगालो हो, ‘मनका तरङ्ग’ । पुस्तक केही समयअघि बजारमा ल्याइएको हो ।
कवि मल्लले आफ्नो मन्तव्यमा लेखेकी छन्, “विद्युतीय पत्रिकामा प्रकाशित भइसकेका प्रायः रचनाहरू यो कृतिमा समावेश गरेकी छु । यो कृति प्रकाशित गर्ने प्रयासको लागि हौसला, सान्त्वना र आशीर्वादको खाँचो छ ।”
पुस्तकको भूमिकामा डा. विन्दु शर्माले लेखेकी छन्, “आचरणमा अनियमितता देखिँदा देखिँदै पनि पुरुषको सहर्ष स्वीकार्य हुने तर महिलालाई चाहिँ नियमन गर्ने नेपाली समाजको प्रतिविम्बलाई देखाउन सक्नुले यी कविता सामाजिक चेतनाको प्रकटीकरणका माध्यम बन्न सकेका छन् । ... ।”
मल्लको यो कृतिभित्र ५३ कविता, पाँच गजल र २९ गीत समेटिएको छ ।
एडुकेसनल पब्लिसिङ हाउसद्वारा प्रकाशित १५४ पृष्ठको यो पुस्तकको मूल्य ३९५/– रुपैयाँ राखिएको छ ।
०००
कैवल्य
(उपन्यास : शीतल गिरी)
सांस्कृतिक लेखनीमा निकै सक्रिय छन्, साहित्यकार शीतल गिरी । कविता, निबन्ध, लोकवार्तालगायत पुस्तक सार्वजनिक गरिसकेका गिरीको अर्को कृति हो, ‘कैवल्य’ । यो उनको दोस्रो उपन्यास हो । उनको यसअघि ‘तपोधन’ उपन्यास प्रकाशित छ ।
गिरीले ‘मेरा कुरा’मा लेखेका छन्, “यो उपन्यास हो— तथागतको जन्मदेखि मृत्युसम्मको, यो उपन्यास हो— तथागतको धर्म र नेपालमा पाइएका लोककथनलाई शब्दमा उनिएको । यो उपन्यास मेरो अघिल्लो उपन्यास तपोधन जस्तो क्लिष्ट नहोस् भनि एक एक वाक्य र शब्द जागरुक भई आफूले सक्दो केलाएको छु ।”
उपन्यासको भूमिकामा डा. तुलसी भट्टराईले लेखेका छन्, “‘कैवल्यका स्रष्टा शीतल गिरीले आफ्नो कृतिभित्र प्रकारान्तरले यिनै बुद्ध चरितलाई अन्तर्भुक्त गराएका छन् । बुद्धका बारेमा विभिन्न पात्रका माध्यमबाट अनेकौँ विचार व्यक्त गराएका छन् । ... ।”
साहित्यकार प्रोल्लास सिन्धुलीयले लेखेका छन्, “मेरो मात्र होइन, अहिलेको समयलाई नै झननन बनाउँदै यो पुस्तक पाठकमाझ छिर्नेछ र निर्धक्क भन्नेछ— ‘लु हेर ! यो तिमीहरूले चाहेजस्तो गहकिलो किताब आयो ।”
ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको ३८२ पृष्ठको यो उपन्यासको मूल्य ६९५/– रुपैयाँ राखिएको छ ।
०००
सिरिसा
(सेन्युकविता : वसन्तराज अज्ञात)
कवि वसन्तराज अज्ञात गएको तीन दशकदेखि साहित्यमा सक्रिय छन् । उनी कतिपय काव्यकृतिका स्रष्टा हुन् । उनले सम्पादन गरेका पुस्तकहरू पनि प्रशस्त छन् । हालै वसन्तले सेन्युकवितासंग्रह ल्याएका छन्, ‘सिरिसा’ ।
वसन्तले ‘आफ्नै कुरा’मा लेखेका छन्, “काव्यविधाअन्तर्गत मलाई सबैभन्दा बढी सहज र उच्च लाग्ने गीत लेखन नै हो । तथापि, अन्य विधामा पनि कलम चलाएको हो, तर कृतिका रूपमा प्रकाशन गर्न ढिलाइ भएकाले ती सबै डायरीभित्रै थन्किए । कति हराए, कति मेटिए । कति त आफैँलाई मन परेन ।”
डा. यज्ञेश्वर निरौलाले भूमिकामा लेखेका छन्, “सेन्यु हाइकुजस्तै संरचनामा कुँदिने सूक्ष्म र लघुतम सुन्दर सिर्जना हो । हाइकुमा जस्तै सेन्युमा पनि पाँच, सात, पाँचका तीन हरफको बाह्य संरचना रहन्छ तर हाइकुको शास्त्रीय मान्यता जे छ त्यसबाट सेन्युको आन्तरिक संरचना मुक्त हुन्छ । ... ।”
कृतिको ब्लर्बमा कृसु क्षेत्रीले लेखेका छन्, “मौरीले जसरी हजारौँ माइल यात्रा तय गर्दै मह उत्पादन गर्छ त्यसरी नै वसन्तले नेपाली भाषा साहित्यको विकासमा महको घार नै निर्माण गरेका छन् । ... ।”
त्यस्तै, बद्रीप्रसाद ढकालले लेखेका छन्, “नेपाली हाइकु/सेन्युकविता हुन नेपाली मौलिकपन हुनुपर्दछ, नेपाली सुवास हुनुपर्दछ । ... ।”
अनुसन्धान विमर्शद्वारा प्रकाशित १०४ पृष्ठको यो कविताकृतिको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।
०००
औडाहा डटकम
(हास्यव्यंग्य कविता : भोजराज रेग्मी ‘मुखाले’)
हास्यव्यंग्य क्षेत्रमा कलम चलाउँदै आएका सर्जक भोजराज रेग्मी ‘मुखाले’को अर्को कविताकृति हो, ‘औडाहा डटकम’ । मुखालेले यसअघि दुई कृति बजारमा ल्याइसकेका छन् ।
रेग्मीले आफ्नो भनाइमा लेखेका छन्, “...बेलामौका पारेका तिनै अण्डाहरूको जुलुस निस्किने छाँट देखेर मलाई औडाहा भो । तिनै अण्डाहरू कोरल्दा बाफाले भालेहरूसँग सिँगौरी खेल्न सक्ने यो ‘औडाहा डटकम’ जन्मेको छ ।”
कृतिमा चट्याङ मास्टरले लेखेका छन्, “रेग्मीको मुखाले मुख कवितामा चलेको छ, गजलमा चलेको छ, मुक्तकमा पनि उत्तिकै जाँगरका साथ चलेको छ । ... ।”
यो कृतिभित्र २० सिंगडा कविता, आठ गीत गजल र २५ फुरौला कविता समेटिएको छ ।
फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित ९६ पृष्ठको यो पुस्तकको मूल्य २५५/– रुपैयाँ राखिएको छ ।
०००
ऐँजेरु
(उपन्यास : शुकदेव उपाध्याय)
प्राध्यापन पेसाबाट अवकाशप्राप्त शुकदेव उपाध्याय दोस्रो उपन्याससहित उपस्थित भएका छन्, ‘ऐँजेरु’ । ‘भर्चुअल लभ’ उनको पहिलो उपन्यास हो ।
उपाध्यायले आफ्नो भनाइमा लेखेका छन्, “...अहिलेलाई यति मात्र भनूँ कि यो उपन्यास यौटा खल पात्रलाई मुख्य भूमिकामा राखेर बुनिएको उसैको जीवनकथा हो । यसमा मुख्यतः दुर्योधन नामक त्यस खल पात्रका माध्यमले समाजमा उम्रिएका त्यस्ता ऐँजेरु प्रवृत्तिलाई उजागर गरिएको छ । ... ।”
साहित्यकार पवन आलोकले ब्लर्बमा लेखेका छन्, “प्रस्तुत उपन्यासमा उल्लेखित स्थानहरूको सुन्दर र सजीव चित्रण छ । ती यथार्थपरक र जीवन्त लाग्छन् । ... ।”
सुन्दर स्वदेश पब्लिकेसनद्वारा प्रकाशित १६० पृष्ठको यो उपन्यासको मूल्य ४००/– रुपैयाँ राखिएको छ ।
०००
उमेरिँदाको कथा र व्यथा
(ज्येष्ठ नागरिक भोगाइ : प्रा. डा. मुकेशकुमार चालिसे)
प्रा. डा. मुकेशकुमार चालिसेले लेखेको ज्येष्ठ नागरिकसम्बन्धी सामग्री ‘उमेरिँदाको कथा र व्यथा’ हालै बजारमा ल्याइएको छ । पछिल्लो समय उनले ज्येष्ठ नागरिकका विविध विषयमाथि पुस्तक लेखेका छन् ।
प्रा. डा. चालिसेले ‘मेरा तर्कना’मा लेखेका छन्, “अचेल मैले नेपाली वाङमयको गद्यसाहित्यमार्फत पाकापाकीका बारेमा कलम चलाउने कोसिस गरिरहेको छु ।”
पुस्तकमा चट्याङ मास्टरले लेखेका छन्, “उमेरिने क्रममा बुढ्यौलीले छोएपछि जीवविज्ञानका प्राध्यापक डा. मुकेशकुमार चालिसेले वि.सं. २०७० देखि पाका मानिसको जीवनबारे सोच्न र लेख्न थाल्नुभएको हो । ... ।”
पुस्तकको भूमिकामा डा. सुमन के श्रेष्ठले लेखेका छन्, “बुढ्यौली स्वास्थ्य लेखनजस्तो महत्त्वपूर्ण तर जटिल एवं चुनौतीपूर्ण क्षेत्रमा कलम चलाउन विज्ञान बुझेका लेखक नै आवश्यक पर्छ, तर नेपालमा यसको कमी अहिले पनि महसुस भइरहेको छ । यही कमी पूरा गर्न अन्तर्राष्ट्रियस्तरका जीववैज्ञानिक प्रा. डा. मुकेशकुमार चालिसेको आगमनले बुढ्यौली समाज र बुढ्यौली स्वास्थ्य क्षेत्रले आशाको किरण देखेको छ । ... ।”
यो पुस्तकभित्र प्रा. डा. चालिसेका २८ लेखरचना पढ्न सकिन्छ ।
ज्ञानगुन प्रकाशनद्वारा प्रकाशित २९६ पृष्ठको यो पुस्तकको मूल्य ४००/– रुपैयाँ राखिएको छ ।