काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आग्रह गरेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै जीवन रक्षाका लागि आग्रह गरेको हो ।
जैविक विविधता, रैथाने संस्कृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, बाँस प्रवर्द्धन, गिटी क्रसर नियमन र जंगली जनावर नियन्त्रणजस्ता माग राख्दै साउन ११ गतेदेखि काठमाडौंमा अनशनरत मेयर भट्टराईको जीवनरक्षाका लागि तत्काल पहल गर्न आयोगले नेपाल सरकारसँग आग्रह गरेको हो ।
आयोगले अनशन स्थल माइतीघर मण्डला र वीर अस्पताल पुगेर निरीक्षण गरेको जनाएको छ । निरीक्षणका क्रममा आयोगले भट्टराई स्वयं, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, वीर अस्पतालका चिकित्सक र प्रशासनसँग जानकारी लिएको छ ।
अनुगमनका क्रममा भट्टराईलाई माइतीघरमा अनशन बस्नुअघि सिंहदरबारतर्फ अगाडि बढ्दा प्रहरीले नियन्त्रणमा लिई माइतीघरमै ल्याएको तथा स्थानीय प्रशासनले रत्नपार्कस्थित शान्तिवाटिकामा अनशन बस्न आग्रह गरे पनि भट्टराईले अस्वीकार गरेको पाइएको आयोगले जनाएको छ ।
भट्टराईको स्वास्थ्य अवस्था क्रमशः गम्भीर बन्दै गएको र ब्लडप्रेसर, सुगर तथा मुटुको धड्कन सामान्यभन्दा कम रहेको जानकारी अस्पताल प्रशासनले दिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । यद्यपि भट्टराईले अझै पनि थप उपचारका लागि भर्ना हुन अस्वीकार गर्दै आएका छन् ।