बुटवल । लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा साढे ६ हजार सवारी साधनलाई कारबाही गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा लुम्बिनीमा ६ हजार ५६६ सवारी साधनलाई नियम उल्लंघनको कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।
उनका अनुसार, सवारी कारबाहीबाट ३३ लाख ७५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ । स्वरूप परिवर्तन गरिएको मोटरसाइकल चालकलाई लक्षित गर्दै २१९ कारबाहीमार्फत २० लाख १० हजार रुपैयाँ राजस्व संकलन गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी हो ।
उनले बिलबुक तथा नम्बर प्लेटबिना सञ्चालनमा रहेका ५६ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको जानकारी दिए । कानुनी प्रक्रिया पूरा गरेपछि ४१ स्कुटर सवारीधनीलाई फिर्ता दिइएको छ । बाँकी १५ स्कुटर कारबाहीको प्रक्रियामा छन् ।
त्यस्तै, बुटवलमा दर्ता नभएका २४९ ईरिक्सा तथा टेम्पो उपमहानगरपालिकामा पठाएर १४ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको शर्माले जानकारी दिए ।