रामधुनी, (सुनसरी) । त्रेतायुगको कुरा हो, भगवान् राम ऋषिमुनिको रक्षाका लागि अहिलेको रामधुनी जंगलमा थिए । उनकै उपस्थितिमा ऋषिहरूले धुनी जगाए । तर, एकाएक जनकपुरमा राजा जनककी छोरी सीताको स्वयंवरको चर्चा फैलियो । ऋषि विश्वामित्रसँगै राम–लक्ष्मण जनकपुरतिर लागे ।
भगवान् शिवको धनुष रामले उचाल्दा भाँचियो । सीतासँग विवाह भयो । उतैबाट सीता लिएर राम अयोध्या गए । तर, रामधुनीमा होमादी गर्दा जगाइएको धुनीलाई त्यहीँका ऋषि तथा महन्तहरूले निरन्तरता दिए– राम फर्किएर आएपछि पूर्णाहुति गर्ने योजनाका साथ ।
तर, त्यसपछि भगवान् रामको जीवनमा धेरै उतारचढाव आए । उनी फर्किएनन् । बरु अयोध्याबाटै १४ वर्षका लागि वनबास गए ।
-1753946738.jpeg)
अहिले पनि 'भगवान् रामको प्रतीक्षामा' रामधुनीको निरन्तर धुनी बलिरहेको छ । सुनसरीको चारकोसी जंगलमा अवस्थित रामधुनी क्षेत्रबारे यस्तै धार्मिक जनश्रुति प्रचलनमा छन् ।
चारकोसे जंगलभित्र पर्छ । झुम्का बजारबाट पश्चिम–उत्तर लागेपछि पुगिन्छ । हिन्दुहरूका लागि विशेष ठाउँ हो ।
रामधुनी 'राम' र 'धुनी' दुई शब्द मिलेर बनेको छ । स्थानीयका अनुसार, रामले बालेको धुनी भएको स्थान हो, यो । यहाँको धुनी मन्दिरमा साजको ठुलो मुढा सल्काइन्छ, जुन निरन्तर बलिरहन्छ । साज विस्तारै बल्ने गर्छ । साधुसन्यासीले तपका लागि वा ताप्नका लागि यस्तो आगो बाल्ने गर्छन् ।
रामधुनीको भष्म नै यहाँको प्रसिद्ध प्रसाद हो । श्रद्धाका साथ ललाटमा भष्म धारण गर्ने चलन छ ।
-1753946738.jpeg)
अहिले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको छ । तर, विगतमा निकै सुन्दर परम्परागत शैलीका मन्दिर नै छोप्ने गरी परिसरभित्र लथालिंग ढंगले बनाइँदै गरेका संरचनाका कारण यो क्षेत्र कुरूप देखिन थालेको छ । आफैँमा प्राकृतिकरूपमा सुन्दर ठाउँमा केही समययता जथाभाबी कंक्रिटका संरचना बनाइँदै छन्, यसकै एउटा नमुना हो मन्दिर परिसरमा बन्दै गरेको विवाह मण्डप ।
'रामको विवाह नै नभएको स्थान'मा बनाइँदै गरेको विवाह मण्डपमाथि स्थानीयले समेत प्रश्न उठाइरहेका छन् । भगवान् रामसँग सम्बन्धित धुनी नै यस ठाउँको विशेषता भएको महन्त काशीराम उदासी सुनाउँछन् । उनका अनुसार, धुनी ताप्न र विभूति शिरमा लगाउन हजारौँ भक्तजन पुग्ने गर्छन् । बाला चतुर्दशीमा यहाँ ठूलो मेला पनि लाग्छ ।
पुरानो मन्दिरको हेरचाह महन्तले गर्ने गर्छन् । नजिकै गौशाला पनि छ । ऐतिहासिक पोखरी पनि छ । “तर, मूल मन्दिर छाडेर अहिले धमाधम अरू मन्दिर बनिरहेका छन्, किन हो हामीले कुरा बुझ्न सकेका छैनौँ,” उदासीले भने, “रामधुनीको महत्त्व नै ओझेलमा पर्ने गरी बनाइँदा सुन्दरता होइन, साँघुरो अनि कुरूप बन्दै गएको छ ।”
-1753946737.jpeg)
उदासीका अनुसार, रामधुनीमा रामायणकालदेखि नै निरन्तर धुनी बलिरहेको छ । मूल मन्दिरमा साजको काठमा ज्वालाविहीनरूपमा निरन्तर आगो बल्छ । त्यसको सुगन्धित धुवाँले परिसरलाई घेर्छ ।
मन्दिरको केही पश्चिमपट्टि हाल बन्दै गरेको विवाह मण्डप अधुरो छ । बीच चारकोसे जंगलमा फलामका बार, टायल्स र मार्बल हालेर बनाइँदै गरेको मन्दिर लामो समयदेखि अलपत्र छ । मूल ढोका र झ्याल यूपीभीसी प्रयोग गरेर आधा बनाएर छाडिएको छ । वरिपरि असरल्ल टायल्स र मार्बलका टुक्रा देखिन्छन् । छाना लगाइएको छैन ।
त्यसको छेवैमा पहिले नै काठबाट बनाइएको भक्तजन बस्ने परम्परागत सुन्दर विश्रामस्थल छोपिने गरी यो संरचना बनिरहेको छ ।
डुम्राराहाका करिलाल चौधरी पनि मन्दिरभित्र जथाभाबी बनाइएका संरचना मन नपरेको बताउँछन् । “पुरानो शैलीमा बनाइएका काठका संरचना त्यसै राम्रा थिए, अहिले धमाधम नयाँ बनाइरहेका छन् । खै किन हो हामीले बुझ्न सकेका छैनौँ,” उनले भने, “त्यत्तिकै राम्रो देखिने ठाउँमा सिमेन्ट र फलाम प्रयोग गरेर यस्ता चिज बनाउँदा मन्दिर क्षेत्र झन् नराम्रो देखिन थालेको छ ।”
रामधुनी पोखरीको उत्तरी भागमा बनाइँदै गरिएको १०८ धारासमेत अधुरो छ । टायल्स प्रयोग गरेर बनाइएको यी धारा कहिले चल्ने हुन्, ठेगान नभएको उनले सुनाए । भक्तजनले ऐतिहासिक रामधुनी पोखरीमा नुहाएर मन्दिर प्रवेश गर्ने चलन रहेको सुनाए ।
-1753946737.jpeg)
रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीका अनुसार, विवाहमण्डप ३५ करोड रुपैयाँ र १०८ धारा दुई करोड रुपैयाँ लागतमा अघिल्लै कार्यकालबाट बनाउन थालिएको हो । “पहिले नै डीपीआर बनाएर काम थालिएको रहेछ, संघीय सरकारको समपूरक अनुदानमा काम थालिएको रहेछ,” उनले भने, “अहिले हरेक वर्ष माथिबाट एक करोड आउँछ, हामीले पनि त्यत्तिकै लगाउँदा यो पूरा हुन त ३५ वर्ष लाग्ने भयो ।”
उनले आफू ६५ वर्षको भएको तर सानो छँदा रामधुनीमा खेल्न जाँदा काठकै टहरा र छाप्राजस्ता मन्दिर हुने गरेको सुनाए । “लकडी बलिरहेको थियो । प्रधानपञ्चले पुरानै शैलीमा बनाएका थिए । पूर्वमेयरका पालामा डिजाइन बनेको हो । जंगलमै भएकाले काठैकाठको बनाउन सुझाव पनि आएको हो,” उनले भने, “तर, डीपीआर पहिले नै बनाएको हो । ३५ करोड लागत लाग्छ । नेपाल सरकारबाट दुई वर्षदेखि एक–एक करोड आउने गरेको छ । समपूरक बजेट आउने गरेको छ । धारा नै दुई करोडको हो । पहिलो वर्ष नै सुरुवात भएको थियो, ठेक्का नै लागिसकेको थियो ।”
भगवान् रामसँग जोडिएको विषय भएकाले पाठशाला, पाकशाला, होमशाला र धर्मशाला पनि आवश्यक रहेको उनले बताए । होमशाला पुरानै शैलीको रहेको उनले सुनाए ।
रामधुनीसहितका क्षेत्रलाई जोडेर कोसी प्रदेश सरकारले धार्मिक ‘सर्किट’ बनाउने घोषणा गरेको छ । कोसी पर्यटन वर्षको सन्दर्भ पारेर यस ठाउँलाई समेत गन्तव्यमा राखिएको छ ।
-1753946736.jpeg)
आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सुनसरीका प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी भन्छन्, “सुनसरीका धेरै धार्मिक क्षेत्रलाई पर्यटकीयरूपमा विकास गर्ने सरकारको योजना छ ।”
यस्तो छ धार्मिक महत्त्व
पौराणिक विश्वासअनुसार, ‘कौशिकी’ भनेर चिनिएका कुशिक वंशका ऋषि विश्वामित्रले कोसी नदी किनारमा तपस्या गरे । उनले सिद्धि प्राप्त गरे । उनकै नामबाट कोसी रहन गयो ।
विश्वामित्रले कोसी नदीकै किनारमा रहेको आश्रममा प्रसिद्ध वैदिक मन्त्र र ऋचा लेखेको विश्वास गरिन्छ । ऋग्वेदमा उल्लेखित गायत्री मन्त्र उनैले रचना गरेका हुन् ।
सप्तकोसी नदीकै पूर्वी किनारमा पर्ने रामधुनीको धुनी त्रेतायुगमा भगवान् रामले जगाएको विश्वास गरिन्छ । यही भएर ठाउँको नाम नै रामधुनी रहन गयो । यहाँको चारकोसे झाडीलाई पछि ‘धुनीवन’ भनियो । तर, भगवान् रामले नै जगाएको मानिँदै यसलाई रामधुनी भन्न थालियो ।
-1753946735.jpeg)
कोसी किनारमा विश्वामित्रको र कोकाखोलाको शिर सिद्धाश्रममा अन्य ऋषिहरूको आश्रम रहेको धार्मिक विश्वास छ । सिद्धाश्रमका ऋषिमुनिले दानवहरूबाट छुटकारा पाउन विश्वामित्रसँग आग्रह गरेका थिए । विश्वामित्रले ती राक्षसहरूबाट सिद्धाश्रम क्षेत्रलाई मुक्त गर्न अयोध्या नरेश दशरथसँग राजकुमार राम र लक्ष्मणलाई मगाएको जनश्रुती छ ।
प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले यसबारे चर्चा गरेका थिए । कोसी प्रदेशसभामा समेत उनले यही विषय दोहोर्याएका थिए ।
