site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डलर र पेट्रोलियमको भाउ उकालो यात्रामा, मूल्य वृद्धिको त्रास

काठमाडौं । अमेरिकी डलर र कच्चा तेलको मूल्य निरन्तर उकालो लागको छ । डलरको भाउ बढेर बिहीबार १४०.१८ रुपैयाँ पुगेको छ । कच्चा तेलको मूल्य मुरबान क्रुडमा ब्यारेलको ७६ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ । 

अघिल्लो सातासम्म स्थिर रहेको अमेरिकी डलर र कच्चा तेलको भाउ फेरि बढ्न थालेको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक डलर बराबर १४०.१८ रुपैयाँ बिक्रीदर तोकेको छ । बुधबारका लागि एक डलर बराबर १३९.२१ र मंगलबार १३८.९७ रुपैयाँ थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत अन्य उदीयमान मुलुकहरूलाई थप भन्सार लगाउने चतावनी दिएपछि डलर थप मजवुत बनेको हो । 

राष्ट्रपति ट्रम्पले युक्रेनसँग युद्धविराम गर्न सहमत नभएसम्म रूसमाथि थप प्रतिबन्ध र भन्सार शुल्क लगाउने धम्की दिएपछि कच्चा तेलको भाउ ६ हप्ताकै उच्चतम स्तरमा पुगेको छ । 

डलर र कच्चा तेलको भाउ बढेपछि यसले विश्वभर महंगी बढाउने चिन्ता थपेको छ । उपभोक्ता सूचकका आधारमा नेपालमा मुद्रास्फिती दर औसत २.७२ प्रतिशत रहेको छ । गत वर्ष मुद्रास्फिती साढे पाँच प्रतिशतमा राख्ने लक्ष्य लिएको थियो ।

गत जेठसम्म १३६ रुपैयाँ आसपासमा रहेको डलर इरान र इजरायबीचको युद्धले थप बलियो बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिका कारण गत माघमा डलरको मूल्य बढेर १४१ रुपैयाँ पुगेको थियो ।

डलरको भाउ बढेपछि उदीयमान मुलुकहरूलाई चिन्ता बढेको थपेको छ भने डलरसँग स्थानीय मुद्राहरू कमजोर भएका छन् ।

भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ भारुसँग स्थिर विनिमयदर (फिक्सड पेग) छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँमा पनि असर पर्ने गरेको छ । बिहीबार एक डलर बराबर ८७.६६ भारु पुगेको छ । बुधबार ८७ भारु थियो ।
 
भारुमा आउने उतारचढावले नेपाली रुपैयाँको मूल्य निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ । यसमा नेपालको अर्थतन्त्रको कुनै पनि भूमिका छैन । 

डलर बलियो हुँदा आयातित वस्तु थप महँगो हुने देखिन्छ भने आयातित कच्चा वस्तुको भाउ बढेर उद्योगको उत्पादन लागत बढ्नेछ । 

विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ । अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । 

डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् भने रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने गरेको छ । रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्षको ११ महिनामा १५.५ प्रतिशत वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड राखेको छ । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशत बढेर गत जेठमा २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । नेपालसँग १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति छ ।

पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउँछन् । 

यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि वस्तुको बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुनजान्छ । विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ ।

अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ । विश्व बैंकले ब्याज दोब्बर बढाएकाले आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिने भएकोे छ । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले पनि ब्याजदर दोब्बर बढाएर २ प्रतिशत पर्याउने भएको छ ।

आगामी आर्थिक वर्षमा सरकारले तीन खर्ब ७५ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ । गत वर्ष सरकारले तीन खर्ब २० अर्ब रुपैयाँ ऋण तिरेको छ ।

विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्नेछ ।

यस्तै कच्चा तेलको भाउ बढेपछि वस्तु उत्पादन र ढुवानी लागत बढ्न गई महंगी बढाउने अवस्था आउने भएको छ । 

स्ट्यान्डर्ड चार्टर्डका कमोडिटी विश्लेषकहरूले आगामी वर्षहरूमा तेलको मूल्य बढ्ने भविष्यवाणी गरेका छन् । कोरोना महामारीपछिको अवधिमा हालको तेलको मूल्य लगभग २० वर्षको औसत ब्यारेलको ७३.३८ सँग मिलेको स्ट्यान्डर्ड चार्टर्डका विश्लेषकहरूको भनाइ छ ।

रुस–युक्रेन युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर ब्यारेलको १४० डलरसमम पुगेको थियो । बढ्दो तेलको भाउले विश्वबजारमा महंगीसमेत बढाएको थियो । 

इरान र इजरायबीचको युद्धले कच्चा तेलको भाउ बढेर ब्यारेलको ८० डलरसम्म पुगेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्