काठमाडौं । नेपाल–भारत सीमा कार्यदल (बीडब्लूजी)को सातौँ बैठक मंगलबार भारतको नयाँदिल्लीमा सम्पन्न भएको छ । झन्डै ६ वर्षपछि बीडब्लूजीको बैठक बसेको हो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सर्वेक्षण विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका सर्वेक्षक महानिदेशक हितेशकुमार एस. मकवानाले गरेका थिए ।
बैठक सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
बैठकले अगस्ट २०१९ मा देहरादूनमा सम्पन्न छैटौँ बीडब्लूजीको बैठकले गरेका निर्णयको कार्यान्वयन र सेप्टेम्बर २०१९ मा देहरादूनमा आयोजित ११औँ सर्वेक्षण समितिको बैठकका कार्य प्रगतिको समीक्षा गरेको थियो ।
“बैठकले नेपाल र भारत सीमामा रहेका सीमास्तम्भहरूको निरीक्षण, मर्मत र मर्मतसम्भारका लागि अद्यावधिक मोडालिटीहरू अपनाउने निर्णय गरेको छ । बीडब्लूजी र यससँग सम्बन्धित संयन्त्रहरूको कामलाई अझ प्रभावकारी बनाउन सर्वेक्षण र नक्साको क्षेत्रमा नयाँ प्रविधिहरू अपनाउने आवश्यकतामा सहमति जनाएको थियो,” दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुवै पक्षले अगस्ट २०२५ मा नेपालमा सर्वेक्षण अधिकारी समिति (एसओसी)को अर्को बैठक गर्नेमा सहमति गरेका छन् । यस्तै, सुविधाजनक मितिमा नेपालमा बीडब्लूजीको अर्को बैठक आयोजना गर्न पनि दुवै पक्ष सहमत भएको विज्ञप्तिमा जनाइएको छ ।
नेपाल र भारत दुवैको सहमतिमा सन् २०१४ मा सीमा स्तम्भहरूको निर्माण, पुनस्र्थापना र मर्मत तथा अन्य प्राविधिक कार्यहरूको क्षेत्रमा काम गर्न बीडब्लूजी स्थापना गरिएको थियो ।
सन् २०१९ मा कोभिड–१९ को महामारी सुरु भएपछि बीडब्लूजीको बैठक बस्न सकेको थिएन । यसैबीचमा नेपाल र भारतबीच सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर सीमा विवाद बढेपछि भारतीय पक्ष बैठकमा बस्न मानेको थिएन । यसैबीच झन्डै ६ वर्षपछि मंगलबार बीडब्लूजीको बैठक नयाँ दिल्लीमा बसेको हो ।