काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको प्यारापिट र फ्लडलाइट राख्न अझै एक महिना समय लाग्ने भएको छ । रंगशालाका प्रोजेक्ट म्यानेजर सौरभ साहले फ्लडलाइट निर्माण सम्पन्न गर्न अझै एक महिना समय लाग्ने बताएका हुन् ।
“निर्माण सामग्री आउन ढिलाइ भएकोले सोचेअनुसार काम अघि बढ्न नसकेको हो । मौसमी कारणले पनि समस्या भयो । अब केही समस्या नभए काम समाप्त हुन एक महिनाजति लाग्छ । रंगशालाको निर्माण ढिलाइ हुनुमा कागजी प्रक्रिया पनि हो,” प्रोजेक्ट म्यानेजर साहले बाह्रखरीसँग भने ।
रंगशालामा कुल ६ वडा फ्लडलाइट राखिने छ । तर, हालसम्म तीनवटा मात्र नेपाल आएको छ । अझै तीनवटा आउन बाँकी नै छ । फ्लडलाइटमा जडान हुने लाइट पनि नेपाल आइपुगेको छैन । यसैकारण त्रिवि मैदानमा संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएको हो ।

उनले नेपाल आउन बाँकी रहेका तीनवटा फ्लडलाइट पनि कागजी प्रक्रियाका कारण भारतमै अड्किएको बताए । फ्लडलाइट नेपाल ल्याउन सहरी विकास मन्त्रालयको सचिवालयले निरीक्षण गरी निर्माण कम्पनीलाई स्वीकृति दिनुपर्ने हुन्छ । तर, निर्माण कम्पनीहरूले हालसम्म स्वीकृत भएको पत्र पाएका छैनन् ।
निर्माण कम्पनीले प्रत्येक फ्लडलाइटमा ७० लाइट आवश्यक पर्ने जनाएको छ । तर, यीमध्ये एउटा पनि नेपाल आइपुगेको छैन । साहका अनुसार, फ्लडलाइड र लाइट नेपाल आए त्यसको भौतिक प्रगति ८० देखि ८५ प्रतिशत पुग्नेछ । हालसम्म फ्लडलाइटतर्फ ५० देखि ५५ प्रतिशतमात्रै काम सम्पन्न भएको साह बताउँछन् ।
हाल वर्षाका कारण रंगशालाभित्र भएका पोल ठड्याउन क्रेन ल्याउन पनि समस्या छ । त्यसैले कम्पनी ६ वटै फ्लडलाइट, हेड फ्रेम र लाइट नेपाल आइसकेपछि लाइट जडान गरी पोल ठड्याउने योजनामा छ ।
रंगशालाअन्तर्गत फ्लडलाइट निर्माणको जिम्मा विसान ईश्वरी जेभीले पाएको छ । फ्लडलाइट निर्माणका निम्ति फागुन २२ गते सहरी विकास मन्त्रालयले विसान ईश्वरीसँग सम्झौता गरेको थियो । त्यसको भोलिपल्टैबाट काम थालिएको थियो ।
रंगशालाका अर्का प्रोजेक्टर म्यानेजर सुरेन्द्र कर्णले पनि एक महिनामा सम्पन्न गर्ने लक्ष्यसहित प्यारापिटतर्फ निर्माण भइरहेको बताए ।
“वर्षाका कारण निर्माण कार्य पछाडि धकेलिन्छ होला । अहिले प्यारापिटतर्फ एक महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भइरहेको छ,” प्रोजेक्ट म्यानेजर कर्णले भने । कर्णले प्यारापिटतर्फको भौतिक प्रगति ८५ प्रतिशत रहेको जानकारी दिए ।
उनका अनुसार, प्यारापिटको पश्चिमतर्फ तीनवटा ब्लकमा ढलान गर्न बाँकी छ । यी ब्लकहरूमा फलामे डन्डी बाँध्ने काम भइरहेको छ । प्यारापिटतर्फ हालसम्म ६ हजार वटा कुर्सी जडान गरिसकेको छ । जडान हुने १० हजार कुर्सीमध्ये चार हजार कुर्सी अझै नेपाल आउनै बाँकी छ । बाँकी कुर्सी चारदेखि पाँच दिनमा नेपाल आइपुग्ने अनुमान रहेको कर्णले जनाए ।
प्यारापिटका निम्ति गत वर्षको फागुन १९ गते ठेक्का लागेको थियो । त्यसको भोलिपल्टदेखि काम थालिएको थियो ।
मन्त्रालयका अनुसार, प्यारापिट निर्माणको जिम्मा तीन कम्पनीले संयुक्त रूपमा पाएका हुन् । ती तीन कम्पनीमा बीटीओआई, केसीडीसी र पीजी कन्स्ट्रक्सन्स छन् ।
२०८१ असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो निर्णय हो, त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशालामा परिणत गर्ने । त्यसबेला प्रधानमन्त्री ओलीले ३०० दिनभित्र रंगशालाको निर्माण सम्पन्न गरिसक्ने बताएका थिए ।
प्रधानमन्त्रीको घोषणाअनुसारको समयसीमा वैशाख २४ गतेसम्मको थियो । तर, ३०० दिनभित्र निर्माण सम्पन्न नहुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफैँले पुनः निर्माण कम्पनीलाई असार ३० गतेसम्मको अन्तिम मिति तोकेका थिए । तर, यो मितिमा पनि निर्माण सम्पन्न नभएपछि हाल निर्माण कम्पनीले दुई लाख हर्जना तिर्दै रंगशालाको काम गरिरहेका छन् ।