काठमाडौं । फोनपे र सामाजिक सुरक्षा कोषबीच प्रवासी नेपाली श्रमिकका कोषमा योगदान बुझाउने सेवा सुरु गर्न सम्झौता भएको छ । सम्झौतापछि विदेशमा रहेका नेपाली श्रमिकले फोनपे नेटवर्कअन्तर्गतका बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरेर सामाजिक सुरक्षा कोषमा सजिलै योगदान गर्न सक्नेछन् ।
सम्झौतापत्रमा फोनपेका प्रमुख सञ्चालन अधिकृत (सीओआ) पारस कुँवर र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि फोनपेका सीओओ कुँवरले प्रवासी नेपालीका निम्ति यो सेवा निकै उपयोगी हुने विश्वास व्यक्त गरे । उनले फोनपे नेटवर्कको व्यापक पहुँचका कारण श्रमिकले सामाजिक सुरक्षा कोषमा सजिलै योगदान गर्न सक्ने बताए ।
कोषका कार्यकारी निर्देशक अधिकारीले विश्वका जुनसुकै कुनामा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यानुसार यो सहकार्य गरिएको जानकारी दिए ।
उनले फोनपे नेटवर्कमार्फत मोबाइल बैंकिङ प्रयोग गरी योगदान प्रक्रिया अझ सरल, सहज र पहुँचयोग्य हुने बताए ।