सिड्नी (अस्ट्रेलिया) । नेपाली चलचित्र ‘पीआर’को रेड कार्पेट प्रिमियर अस्ट्रेलियामा हुने भएको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको प्रिमियर आगामी अगस्ट ९ र १२ मा तय गरिएको छ ।
निर्माण पक्षका अनुसार, चलचित्रको प्रिमियर अस्ट्रेलियाका दुई सहरमा हुनेछ । अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाज हलमा र अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमाज हलमा हुनेछ ।
चलचित्र आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अस्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा प्रदर्शन हुँदै छ ।
शोभित बस्नेतले निर्देशन गरेको चलचित्र विद्यार्थीको संघर्षको विषयवस्तुमा आधारित छ । चलचित्रमा सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापासहितको अभिनय छ ।
त्यसैगरी, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी छन् ।
चलचित्रको निर्मातामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा छन् ।
निर्देशक बस्नेतका अनुसार, चलचित्रको ६० प्रतिशत छायांकन अस्ट्रेलियाका विभिन्न सहरमा र ४० प्रतिशत नेपालमा गरिएको हो ।