काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा फुटबल रंगशाला बनाउने विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा), सूर्यविनायक नगरपालिका र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पदाधिकारीहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले रंगशाला निर्माणको विषयलाई लिएर आइतबार यी तीन निकायका पदाधिकारीहरूसँग छलफल गरेका हुन् ।प्रधानमन्त्रीसँगको छलफलमा एन्फाबाट अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई उपस्थित भएका थिए ।
“खेल क्षेत्रको हाम्रो दायरा फराकिलो हुँदै गर्दा दशरथ रंगशाला हामीलाई साँघुरो भएको छ । अब हामी भक्तपुर सूर्यविनायकमा आधुनिक रंगशाला बनाउँदै छौँ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “आज त्यस विषयमा सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीहरूसँग छलफल गरिएको छ । सूर्यविनायकको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशालाका लागि जग्गा प्राप्तिलगायत विषयमा महत्त्वपूर्ण कुराकानी भएको छ ।”
सरकारले रंगशाला निमार्णका निम्ति चालु आर्थिक वर्ष २०८२–८३ मा तीन करोड रुपैयाँ बजेट छुट्याएको छ । यता, एन्फाले पनि फुटबल रंगशाला निमार्णका निम्ति गत वर्ष नै २२ लाख डलर छुट्याएको थियो ।