site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पश्चिम चितवनमा ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
फाइल तस्बिर ।

चितवन । पश्चिम चितवन र माडी क्षेत्रमा आइतबार (साउन ११) ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार (साउन १०) सूचना जारी गरी गर्मीमा माग बढेको भन्दै ६ घण्टा विद्युत् अनियमित हुने तालिका सार्वजनिक गरेको हो । 
    
चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार, बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । अत्यधिक गर्मी र रोपाइँको समयमा अकासे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत् आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो ।

उनका अनुसार, १३२/३३ केभी सबस्टेसनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न मिल्दैन । तर, लोड ४५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भन्दै आइतबार एक दिनका निम्ति तालिका सार्वजनिक गरिएको हो । उनले एक हप्ताभित्र विद्युत् लोड व्यवस्थापनमा आएको समस्या समाधन गरिने बताए ।

वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

विद्युत् माग बढेर ३३ केभी डगकन्डक्टर तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिए ।

दीर्घकालीन समस्या समाधानका निम्ति अघिल्लो आर्थिक वर्षमा नै बसेनी सबस्टेसनबाट विद्युत् आपूर्ति गर्ने गरी अर्को ३३ केभी प्रसारणलाइन निर्माणको क्रममा रहेको उनले जानकारी दिए ।

तालिकाअनुसार, नारायणी–माडी फिडरहरूमा बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

यस्तै, जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०५:२८
प्रतिक्रिया दिनुहोस्