site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा लम्पी स्किनको संक्रमण बढ्दो, ५३ पशु चौपायाको मृत्यु

इनरुवा । जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको संक्रमण बढेको छ ।

इनरुवासहित धरान, इटहरी, दुहबी, बराहक्षेत्र, रामधुनी, कोसी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको संक्रमण देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिए । 

जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशुचौपायामा संक्रमण देखिएको उनले बताए ।  सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशुचौपायामा लम्पी स्किनको संक्रमण देखिएको छ भने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ ।

लम्पी स्किनका कारण जिल्लामा हालसम्ममा ५३ वटा पशुचौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ । 

सबैभन्दा बढी बराहक्षेत्र नगरपालिकामा १३ वटाको मृत्यु भएको छ । हालसम्म ६४ हजार ४४१ वटा पशुचौपायालाई खोप लगाएको प्रमुख मेहताले बताए । रासस

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्