site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जब रोग पत्ता लाग्यो

जीवनमा दुःख र संकट नआओस् भनेर चाहनु मानवीय स्वभाव हो । तर, संकट कति बेला कहाँबाट आइलाग्छ थाहा हुँदैन । कतिपय संकट आफ्नै भनिएका मान्छेहरूले सिर्जना गरिदिन्छन् त कतिपय संकट प्राकृतिक र आकस्मिक रूपमै आइलाग्छ ।

संकटले समस्यामा त पार्छ नै, तर संकटले नै मान्छेको सोच र व्यवहारलाई खार्ने काम पनि गर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त आफूलाई भित्रैदेखि माया गर्ने, मान्ने, समस्याबाट पार लगाउनेदेखि, चोचोमोचो मिलाउने, कुराले ठिक्क पार्ने, हेप्ने, फलानोलाई यसो भएछ नि भनेर दंग पर्ने, समस्या समाधान नहोस् भनेर भूमिका खेल्ने थरीथरीका मित्रजनको भित्री अनुहार स्पष्ट हुन्छ ।

आफू वरिपरीका मानिसहरूको परिचय पाइने यस्तो अवसर संकटले नै पैदा गर्छ ।

जीवनमा संकट आउने धेरै कुरामध्ये बिरामी पर्नु पनि हो । उमेर र समयमा आफूलाई केही हुँदैन होला भन्ने लाग्छ । तर, बिरामी परेपछि थाहा हुन्छ कति निर्बल रहेछ मान्छे ।

मैले बिरामी हुनुको धेरैपटक अनुभव गरेँ । प्रत्येकपटक बिरामी हुँदा सबैभन्दा समस्या त परिवारलाई नै हुने भयो ।

सन् २०१० सम्म पनि करिब दुई घण्टा लामो मर्निङ वाकमा हिँड्नु मेरो दैनिकी थियो । कहिले नैकाप, कहिले चोभार, कहिले स्वयम्भू मर्निङ वाकमा जानु, घर पुगेपछि पसिनाले निथु्रक्क भिजेका लुगा धुनु र नुहाएर आराम गर्नु, चिया पिउँदै पत्रपत्रिका हेर्नु बिहानको महत्त्वपूर्ण काम थियो ।

हिँड्दा हिँड्दै मैले देब्रे खुट्टा भारी हुँदै गएको अनुभव गर्न थालेँ । अरू साथीसरह हिँड्न नसक्ने हुँदै गएँ । करिब एक महिनाको अन्तरालमा म मर्निङ वाकको दूरी र समय घटाउन बाध्य भएँ ।

साथीहरू कुलेश्वरबाट चोभार हुँदै भैँसेपाटी पुगेर फर्किंदा म चोभारसम्म पुग्थेँ । त्यसपछि चोभार पुग्ने आँट पनि आएन । म त्रिभुवन विश्वविद्यालयको गेटसम्म पुगेर फर्किन थालेँ ।

अर्को महिना त त्यति पनि हिँड्न नसक्ने भएँ । कुलेश्वर वरिपरि नै घुमेर चित्त बुझाएँ । त्यति पनि नसकेपछि घरभित्र जति सकिन्छ त्यति हिँड्ने भएँ ।

करिब छ महिनाजतिमा त म अलिकति पनि हिँड्न नसक्ने भएँ !

यसबीचमा मैले उपचारमा ध्यानै नदिएको भने होइन । मेरो देब्रे खुट्टाको पिँडुला भारी भएर आउँदा नजिकै सोल्टीमोडमा रहेको स्पार्क हेल्थ होममा गएर मालिस गराउन थालेँ ।

नसा विशेषज्ञ डा. वसन्त पन्तकोमा जाँचेर एमआरआई पनि गराएँ । त्यस्तो विशेष समस्या नरहेको कुरा डाक्टर वसन्त पन्तले भन्नुभयो ।

डाक्टर आफैँ समस्याका भारीमा थिचिएका हुन्छन् । ती समस्याले छुट्टाछुट्टै समस्या लिएर आएका बिरामीलाई कति ध्यान दिएर कुरा सुन्छन्, कति आफ्नो विज्ञता प्रयोग गर्छन् र कति सही सल्लाह दिन्छन् भन्ने प्रश्न जहिले पनि रहिरहन्छ ।

अहिले पनि बिरामीसँग डाक्टरलाई प्रश्न उठाउनेस्तरको अवस्था न्यून छ ।

त्यसपछि अर्को विकल्पमा डा. सुन्दरमणि दीक्षितकहाँ गइयो । उहाँले पूरै शरीरमा केही दाग छ कि भनेर हेर्नुभयो । सियोले घोचेर हेर्नुभयो । उहाँले मेरो छातीमा सियो घोच्नु हुँदा त मैले चालै पाइनँ ।

त्यो थाहा पाएपछि उहाँले भन्नुभयो, ‘अब समस्या छाती वरिपरि रहेछ । यहीँ एमआरआई गराउनुस् ।’

उहाँले भन्नुभएझैँ छातीलाई केन्द्र बनाएर एमआरआई गराउँदा रोगको कारण पत्ता लाग्यो, अर्थात् डाक्टरी भाषामा भन्दा डाइग्नोसिस भयो ।

भएको के रहेछ भने, मेरुदण्डभित्रबाट बिजुलीको तारजस्तै थरीथरीका नसाहरू जाने रहेछ । तीमध्ये कुनै नसा हाततिर त कुनै खुट्टातिर जाने रहेछ ।

मेरोचाहिँ खुट्टामा जाने नसा सानो मासुको डल्ला उम्रेर थिचिएको रहेछ, अर्थात् ट्युमरले नसा च्यापिएको रहेछ । त्यो यस्तो अप्ठेरो ठाउँमा रहेछ कि अपरेसन गरेर निकाल्नै कठिन !

निकाल्नै परेछ भने ढाडमा रहेका केही हाडहरू निकालेर मात्र अपरेसन सम्भव हुन्थ्यो । त्यस्तरी मेरुदण्ड चिरेर, मेरुदण्डको हाड नै निकालेर भित्र रहेको ट्युमर निकाल्नु सजिलो काम त थिएन ।

डाक्टर सुन्दरमणि दीक्षितको बिरामी हेर्ने, बिरामीको रोगको इतिहास पढ्ने, आफूले पहिले लेखेको वा अरू डाक्टरले लेखेका प्रेस्क्रिप्सन ध्यानपूर्वक पढ्ने, अनि मात्र बिरामीको कुरा सुन्ने र बिरामीको समस्यालाई अत्यन्तै संवेदनशील भएर हेर्ने शैलीप्रति म अत्यन्त प्रभावित छु । उहाँको त्यही सीप र शैलीले मेरो रोग पत्ता लागेको थियो ।

बिरामी भएको कुरा कतिपयलाई भनियो, कतिलाई भनिएन । कतिले सुनेर मज्जा लिए, कति दुःखित भए । कतिपय त अब यसले पैसा माग्छ भनेर हच्किए ।

कतिपय मजत्तिकै दुःखी भए, कतिपय मभन्दा पनि दुःखी भए । तथापि, परिवार र केही साथीहरूबाट त्यो बेला पाएको ढाडस, माया भने अतुलनीय थियो ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्