site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तीन जलविद्युत् आयोजनाका लागि प्रस्ताव आह्वान

काठमाडौं । सरकारले अग्रिम बढी रकम (अपफ्रन्ट फि)लाई आधार बनाएर धमाधम जलविद्युत् आयोजना प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई दिन थालेको छ । 

सरकारले अग्रिम बढी रकम प्रस्ताव गर्ने, सस्तोमा र निःशुल्क बढी बिजुली दिने तीन मापदण्ड बनाएर प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई आयोजना बनाउन इजाजत (लाइसेन्स) दिइरहेको छ ।

पछिल्लो समय सरकारले अपफ्रन्ट फिलाई जोड दिन थालेको छ । गत असारको पहिलो साता विद्युत् विकास विभागले अपफ्रन्ट फिलाई आधार मानेर तीन जलविद्युत् आयोजना अघि बढाउन बोलपत्र आह्वान गरेको थियो ।

यसैगरी विभागले सार्वजनिक निजी साझेदारी (पीपीपी) खाकामा १३६ मेगावाट क्षमताका तीन आयोजना बनाउन लागेको छ ।

तीन जलविद्युत् आयोजनामा सात लगानीकर्ताले बनाउन प्रस्ताव गरेका छन् । विभागले २१.४ मेगावाटको इन्खुखोला (सोलुखुम्बु), ६५ मेगावाटको अपर कालिगण्डकी (म्याग्दी) र ४९.५ मेगावाटको लोती कर्णाली अर्धजलासय आयोजना (हुम्ला) आफैँ निर्माण, सञ्चालन र हस्तान्तरण (बुट मोडल)मा बनाउन विभागले कम्पनीसँग आशयपत्र मागेको हो । 

इन्खुखोलामा बेनी हाइड्रोेपावर प्रोजेक्ट्स लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड र स्नो रिभर लिमिटेडले आशयपत्र पेस गरेका छन् । तीनवटै कम्पनीले जलविद्युत् आयोजना बनाइ हाल सञ्चालन गरिरहेका छन् । 

कालिगण्डकीमा साहस ऊर्जा लिमिटेडले अक्वापिक इनर्जीसँगको साझेदारी (जेभी) र निलगिरी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रस्ताव गरेका हुन् । सहास र निलगिरीले जलविद्युत् आयोजना सञ्चालन गरिरहेका छन् ।

साहासले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी आयोजना बनाउन लागेको छ ।

लोती कर्णाली अर्धजलासयमा अपी पावर कम्पनी लिमिटेड र भोटेकोसी पावर कम्पनी लिमिटेडसँगको जेभीमा तारा इनर्जीले प्रस्ताव गरेका छन् । अपी र भोटेकोसी पावरले जलविद्युत् आयोजना सञ्चालन गरिरहेका छन् ।

आशयपत्रमा छनोट भएका कम्पनीहरूले तीन आयोजना बनाउन बोलपत्रमा भाग लिन पाएका छन् । आशयपत्रको संक्षिप्त सूचीमा परेका कम्पनीले आयोजना प्राप्त गर्न प्रविधिक र आर्थिक प्रस्ताव विभागमा पेस गर्नुपर्नेछ । 

प्रस्ताव पेस गर्ने अन्तिम दिन आउँदो भदौै २४ गते १२ बजेसम्मलाई तोकिएको विभागले जनाएको छ । सोही दिन कम्पनीहरूले पेस गरेको प्राविधिक तथा आर्थिक प्रस्ताव खोल्ने भएको छ ।

विभागले प्राविधिक क्षमता ४५, आर्थिक ३५ र अनुभवलाई २० अंक भार तोकेको छ । प्राविधिक प्रस्तावमा न्यूनतम ६० अंक प्राप्त गर्ने बोलपत्रदाताहरूमध्ये सबैभन्दा अपफ्रन्ट फि रकम प्रस्ताव गर्ने प्रस्तावकलाई छनोट गर्ने जानकारी विभागले दिएको छ ।

यसैगरी विभागले ११८ मेगावाटका तीन जलविद्युत् आयोजना प्रतिस्पर्धाबाट बनाउने भएको छ । तीन आयोजना बनाउन नौ कम्पनी संक्षिप्त सूचीमा परेका थिए । 
विभागले ४७ मेगावाटको दूधकोसी–४, ३०.२ मेगावाटको लोअर होङगु र ४०.८ मेगावाटको संखुवाखोला बनाउन विभिन्न नौ विकासकर्ता कम्पनीलाई छनोट गरेको थियोे । विभागले बोलपत्र पेस गर्ने अन्तिम दिन साउन २२ गतेलाई तोकिएको छ ।

त्यसबेला ४७ मेगावाटको दूधकोसी आयोजना बनाउन भियोमा हाइड्रोपावर लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड जेभी, सुपर मादी हाइड्रोपावर लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेड संक्षिप्त सूचीमा परेका थिए ।

३०.२ मेगावाटको लोअर होङगु आयोजना बनाउन तीन कम्पनी संक्षिप्त सूचीमा परेका छन् । विभागका अनुसार स्वेतगंगा हाइड्रोपावर एन्ड कन्ष्ट्रक्सन लिमिटेड, रिभान्ता हाइड्रोपावर र माउन्टेन इनर्जी लिमिटेड जेभीका साथै सिंगटी हाइड्रो इनर्जी लिमिटेड छनोट भएका छन् । 

४०.८ मेगावाटको संखुवाखोला–१ आयोजनामा नोबेल ग्रुप अफ हाइड्रो इनर्जी लिमिटेड र पिपुल्स हाइड्रोपावर लिमिटेड जेभी, लिवर्टी इनर्जी लिमिटेड र ग्लोबल हाइड्रोपावर एसोसियट लिमिटेड रहेको विभागले जनाएको छ । 
यसअघि विभागले गत वैशाख २७ गते बुट मोडेलमा तीन आयोजना बनाउन विकासकर्ताबाट आशयपत्र मागेको थियो । 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्