काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकस्थित गोब्रे वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने सम्भावना छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
"साउन ९ गते, राति ७:५० बजे । पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोक जिल्लास्थित गोब्रे वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाइराखौँ," विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै, ललितपुर र मकवानपुरमा मध्यम वर्षा मापन भएको विभागले जनाएको छ । साउन ९ गते राति ७:३५ बजे, ललितपुरस्थित खुमलटार वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ ।
विभागका अनुसार, पछिल्लो तीन घण्टामा मकवानपुरको मार्खु गाउँ र सिलिङे वर्षामापन केन्द्र तथा आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ ।