काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन् ।
गृह पालिका मर्स्याङ्दी गाउँपालिका–८, भुलभुलेमा बिहीबार आयोजित सम्मान तथा मर्स्याङ्दी गाउँपालिका अन्डर–१९ फुटबल खेलाडीसँग अन्तर्क्रियामा साम्बालाई सम्मान गरिएको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले दोसल्ला ओढाएर सम्मान गरे ।
उनले साम्बा जस्तै खेलाडी उत्पादन गर्न र खेलकुद क्षेत्रलाई माथि उकास्न गाउँपालिका लागेको बताए । पालिकामा सम्मानित हुन पाउँदा खुसी लागेको फुटबल खेलाडी भण्डारीले बताइन् । यस्ता सम्मानले अझै राम्रो र निरन्तर खेल्न प्रेरणा मिल्ने उनको भनाइ छ । गाउँपालिकाले भण्डारीको सम्मानमा मर्स्याङ्दी गाउँपालिका–९, खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरणसमेत गरिसकेको छ ।