काठमाडौं । भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले कुवेत जान लागेका ४७ नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काएको छ । गैरकानुनी ढंगले भारतको बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत जान लागेका उनीहरूलाई बुधबार भारत सरकारका सम्बन्धित निकायहरूसँगको सहकार्यमा उद्धार गरी नेपाल फर्काएको हो ।
भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साउदी एयरको उडानमार्फत मंगलबार बोर्डिङ पास लिइ कुवेत जाने लागेका थिए । उनीहरूसँग भएको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शंकास्पद देखेपछि विमानस्थलको अध्यागमनले राजदूतावाससँग सम्पर्क गरेको थियो । सबै एनओसी नक्कली भएको प्रमाणित भएपछि उनीहरूलाई कुवेत जानबाट रोक लगाइएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भारत हुँदै कुवेत जान लागेका ४७ नेपाली महिलालाई स्वदेश फर्काइयो
यसअघि, बुधबार नै अर्को ४७ जनाको समूहलाई शंकास्पद एनओसी बोकेको आधारमा भारतको सोही अन्तर्राष्ट्रिय विमानस्थलबाट बोर्डिङ पास जारी नगरी फर्काइएको थियो ।
त्यसलगत्तै राजदूतावासका प्रतिनिधिहरू विमानस्थल गई अध्यागमनका अधिकारीहरूसँगको समन्वयमा उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको थियो । भारतको विदेश मन्त्रालयसमेतको सहजीकरणमा उनीहरूसँगै आएका राजदूतावासका प्रतिनिधिहरूको रोहवरमा थप अनुसन्धानका लागि बिहीबार जिल्ला प्रहरी कार्यालया, रूपन्देहीलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।
मानव तस्करहरूको फन्दामा परी गैरकानुनी रूपमा विदेश जाने र विदेशमा गई अलपत्र पर्ने नेपाली नागरिकहरूको संख्या ठूलै छ । अतः आफू ठगिन एवं कानुनी झन्झटबाट जोगिन विदेश जानुअघि आफूसँग भएका पासपोर्ट, भिसा, एनओसीलगायत सबै कागजातहरू दुरुस्त भएको यकिन गरेर मात्र यात्रा गर्न दूतावासले अनुरोध गरेको छ ।