काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले लोनमा भित्रिएका म्यानचेस्टर युनाइटेडका फरवार्डलाई १४ नम्बर जर्सी दिएको छ ।
रासफोर्डका निम्ति युनाइटेडसँग लोन सम्झौता गरेको बार्सिलोनाले बुधबार इंग्लिस फरवार्डलाई आधिकारिकरूपमा सार्वजनिक गरेको थियो । जहाँ उनले १४ नम्बर जर्सी पाएका हुन् । बार्सिलोनाले एक सिजनका निम्ति लोन सम्झौता गरेको भए पनि स्थायी खेलाडी बनाउने विकल्प पनि राखेको छ ।
मिडिया रिर्पोटका अनुसार, बार्सिलोनाले २७ वर्षीय रासफोर्डको पारिश्रमिक बेहोर्नेछ । यस्तै, रासफोर्डले पनि बार्सिलोनासँगको लोन सम्झौताका निम्ति आफ्नो पारिश्रमिक घटाउन सहमति जनाएको स्पेनिस सञ्चारमाध्यमले खुलाएका छन् ।
“निकै उत्साहित छु । मलाई लाग्छ, यो यस्तो क्लब हो, जहाँ आएपछि खेलाडीको सपना पूरा हुन्छ । मलाई यो मेरो घरजस्तै अनुभव भएको छ,” सम्झौतापछि रासफोर्डले भने ।
युनाइटेडको सिनियर टिमबाट ४२६ खेल खेलेका रासफोर्डले १३८ गोल गरेका छन् ।