काठमाडौं । बंगलादेशमा आयोजित साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपाल घरेलु टिमसँग ४–० ले पराजित भयो । नेपाल युवा महिला टिम उपविजेतामा सीमित बन्यो ।
‘डबल राउन्ड रोबिन’ पद्धतिमा सञ्चालित प्रतियोगितामा नेपालले ६ मध्ये दुईमा हार र चार जितसहित १२ अंक बनायो । अपराजित रहँदै च्याम्पियन बनेको बंगलादेशले ६ खेलबाट १८ अंक जोड्यो ।
नेपाली टिम उपविजेतामा सीमित बने पनि फरवार्ड पूर्णिमा राई प्रतियोगिताकै उच्च गोलकर्ता बनिन् । उनले ६ मध्ये चार खेलमा कुल १० गोल गरिन् ।
उनले भुटानविरुद्धको पहिलो खेलमा चार गोल गरेकी थिइन् । श्रीलंकाविरुद्धको पहिलो खेलमा दुई गोल गरिन् । श्रीलंकासँगको दोस्रो खेलमा एक गोल थपिन् । भुटानसँगको दोस्रो खेलमा उनले ह्याट्रिक गरिन् । त्योसँगै पूर्णिमाले प्रतियोगिताभर कुल १० गोल गरेकी हुन् ।
प्रतियोगितामा नेपालको नतिजा
नेपालले पहिलो खेलमा भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । नेपाल दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भयो । नेपालले तेस्रो खेलमा श्रीलंकाविरुद्ध ७–० को जित निकाल्यो । नेपालले चौथो खेलमा पुनः श्रीलंकालाई ७–० ले हरायो । नेपालले पाँचौँ खेलमा भुटानमाथि ८–० को जित हासिल गरेको थियो ।