काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल घरेलु टिमविरुद्ध पहिलो हाफमा १–० ले पछि परेको छ ।
सोमबार बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा जारी खेलमा बंगलादेशले सुरुआती १० मिनेटमै अग्रता बनाएको हो । बंगलादेशकी सागोरिकाले आठौँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेकी थिइन् ।
नेपाललाई प्रतियोगिताको च्याम्पियन बन्न आज जित्नैपर्ने दबाब छ ।
नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको नेपालले तेस्रो खेलमा श्रीलंकाविरुद्ध ७–० को जित निकालेको थियो । चौथो खेलमा पुनः श्रीलंकालाई ७–० ले नै हराएको नेपालले पाँचौँ खेलमा भुटानमाथि ८–० को जित हासिल गर्यो ।
पाँच खेल चारमा जितसहित १२ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट १५ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ ।