site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सीमापार प्रसारणलाइनबारे नेपाल–चीनबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच रसुवागढी–केरुङ सीमापार प्रसारणलाइन निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउन औपचारिक समझदारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्षले सोमबार (साउन ५) सम्भाव्यता अध्ययनसम्बन्धी ‘माइन्युट’मा हस्ताक्षर गरेका हुन् ।

योसँगै दुई देशबीच सीमापार विद्युत् आदानप्रदानका निम्ति महत्त्वपूर्ण मानिएको प्रसारणलाइनको सम्भाव्यता अध्ययनको काम औपचारिक रूपमा अगाडि बढाइनेछ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसित यसअघि सिड्काका अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलले द्विपक्षीय भेटवार्ता गरेको थियो । भेटवार्तापछि आयोजित कार्यक्रममा दुवै पक्षले उक्त परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल र चीनबीच विद्युत् आदानप्रदानलाई सघाउन यो प्रसारणलाइन निर्माण गर्ने योजना छ । यो परियोजना सम्पन्न भएपछि दुई देशबीच विद्युत् कारोबारमा नयाँ ढोका खुल्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्