site stats
बाह्रखरी :: Baahrakhari
देश
अध्यागमनमा प्रमुख र ४५ नयाँ अधिकृत खटिए
फाइल तस्बिर ।

काठमाडौं । गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ शाखा अधिकृतलाई सोमबार (साउन ५)देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ ।

सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख एवं सहसचिव नरहरि घिमिरे र ४५ नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएका अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिए ।

“लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीनदिने तालिमपश्चात् आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ,” उनले भने, “अध्यागमन कार्यालयमा प्रमुखका रूपमा आउनुभएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ ।”

विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भएर काम गरिसकेका सहसचिव हुन् ।

केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो ।

गृहले ४५ शाखा अधिकृत अध्यागमनमा खटिएका र सोही संख्यामा शाखा अधिकृत मन्त्रालयमा तानिएको जनाएको छ । “विमानस्थलबाट आएका अधिकृतहरू मन्त्रालयमा दरबन्दी मिलान हुन्छ,” गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, “दरबन्दीभन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालयमार्फत बाहिर पठाउने काम हुन्छ ।”

उनले दरबन्दीअनुसार मात्र मन्त्रालयले अधिकृत राख्ने बताए ।

सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ ।

उक्त समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन, विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रस्तुत गर्नेलगायत कार्यादेश दिइएको छ । समितिले कार्यादेशानुसार काम गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्