site stats
बाह्रखरी :: Baahrakhari
खेल
हिमालयन शेर्पाविरुद्ध एपीएफको साँघुरो जित

काठमाडौं । एन्फा यू–१६ युथ लिगमा विभागीय टोली एपीएफले हिमालयन शेर्पाविरुद्ध साँघुरो जित निकालेको छ । एपीएफले आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा हिमालयन शेर्पाविरुद्ध २–० को जित निकालेको हो ।

एपीएफको जितमा पुजन ढकाल र आदर्श मेचेले समान एक–एक गोल गरे । एपीएफले पहिलो र दोस्रो हाफमा गोल गरेको हो ।

खेलको ३१औँ  मिनेटमा पुजनले एपीएफलाई अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा आदर्शले अग्रतालाई दोब्बर बनाए । 

जितसँगै एपीएफले लिगमा नौ अंक जोडेको छ । एपीएफले ६ खेलमा तीन जित र तीन बराबरीबाट नौ अंक बनाएको हो । यसअघि, टोलीले डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइजविरुद्ध १–० र त्रिभुवन आर्मी क्लबविरुद्ध ३–१ को जित निकालेको थियो ।

अब सातौँ खेलमा एपीएफले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल आगामी मंगलबार (साउन ६ गते) बिहानको १० बजे हुनेछ ।

पराजित हिमालयन शेर्पाले भने सातौँ खेलमा प्लानिङ ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल आगामी मंगलबार (साउन ६ गते) अपराह्न ४ बजे हुनेछ ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्