विश्वमा चियाको आफ्नै प्राचीन इतिहास रहेको छ । झन्डै चार हजार वर्षपहिले चीनबाट सुरु भएको मान्यता रहे पनि हामी नेपालीलाई भने चियाको पहिलो चुस्की नेपालबाटै सुरुआत भएको भान हुन्छ ।
चियाको वैज्ञानिक नाम क्यामेलिया सिनेन्सिस हो । विक्रम संवत् १९२० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चीन भ्रमणबाट फर्कंदा चिनियाँ जातको चियाको बीउ उपहारस्वरूप तत्कालीन चिनियाँ सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए भनिन्छ ।
यो त भयो चियाको छोटो ऐतिहासिक जानकारी । अब लागौँ अन्य प्रसंगतिर ।
चिया त्यो पुल हो, जसले विशाल नदीका वारि र पारि बस्ने बस्ती र त्यहाँका मानिसहरूलाई जोड्छ । जोड्छ मात्र हैन, न्यानो बन्धनमा बाँधेर राख्छ । अरू बेला भेट हुँदा बोल्नै नपरोस् जस्तो गर्ने छिमेकीहरूबीच बिहान ‘चिया खानुभो !’ भनेर संवादको सुरुआत गराउँछ चियाले, जुन सकारात्मक पक्ष हो । चिया केवल कपमा सीमित छैन, यसले नेपाली संस्कारको जगेर्ना गरेको छ ।
समय बदलिँदो छ । हिजो सासूससुरा नउठ्दै ओछ्यानमै बुहारीले चिया पुर्याउनुपर्थ्यो । अचेल सासूससुरा नै ‘गुड मर्निंङ बुहारी, यी चिया तैयार भइसक्यो । ल उठ, सँगै पिउनुपर्छ’ भन्दै चिया लिएर कोठामा पुग्छन् ।
यो उहाँहरूको महानता हो । घरमा कोही पाहुना आए ‘एक कप चिया त पिएर जानुस्’ भन्ने हाम्रो आदत मात्र नभएर संस्कार बनिसकेको छ ।
अर्गानिक, अर्थोडक्स, तीनपाते, सीटीसीलगायत चियाका विभिन्न प्रकार छन् । नेपाली चिया भन्नेबित्तिकै इलामको नाम सँगै जोडिएर आउँछ ।
इलामे सहर चियाबारी राम्रो, त्यही पर्यो घर हाम्रो
कसकी हौ छोरी पातली मोरी, लैजाने आँट हाम्रो
यो गीतले इलामे चियालाई विश्वसमुदायसँग जोडेको छ । न केवल घर, अचेल व्यापार–व्यवसाय समेत चियाले जोडिएका छन् । करोडौँको कारोबारको डिल सामान्य चिया गफमा सम्पन्न हुनु कम रोचक लाग्दैन ।
हिजोआज चाबहिल, बानेश्वरलगायत व्यस्त सडक किनार वरपर चिया पसल, चिया हब, चिया र गफ, चिया सागर, पफ एन्ड गफजस्ता नामधारी पसलहरू प्रशस्तै खुलेका छन् । खुलेका मात्र छैनन्, राम्रै व्यवसाय पनि गरिरहेका देखिन्छन्, जुन आर्थिक दृष्टिकोणले अत्यन्त सकारात्मक पाटो हो भन्न सकिन्छ ।
लाखौँ लगानी गरेर खोलिएका उद्योग–व्यवसाय धराशायी हुँदै गरेको यो विषम अवस्थामा चियाले व्यवसायीहरूमाझ थोरै भए पनि राहत पक्कै दिएको हुनुपर्छ । यसका साथै चियासँग जोडिएको ‘गफ संस्कृति’ले चिया पिउनेको संख्यात्मक वृद्धि पनि हुन पुगेको छ ।
साँझपख र राति अबेरसम्म चल्ने गजल नाइटका ग्राहकहरू पनि महँगा विदेशी रक्सीभन्दा नेपाली चियातपÞर्m आकर्षित हुन थालेका त हैनन् ? अर्थात् भनौँ, साथीभाइ भेट हुँदा महँगो रक्सीबाट गरिने चियर्स र बियर्स अहिले सामान्य चियाको चुस्कीमा विस्थापित हुँदै जानुमा चिया संस्कृतिको सकारात्मक प्रभाव मान्न सकिन्छ ।
स्वास्थ्यका दृष्टिले चिया पिउनु कति उचित कति अनुचित भन्ने सवाल बहसको विषय बनेर रहेको छ । तथापि, हामीलाई थाहा भएकै कुरा हो, विश्वमा चिया पिउने र नपिउनेका बीचमा अनेकौँ अनुसन्धान भएका छन् । अधिकांशले चिया पिउनाले मानिस तनावमुक्त भएर नपिउनेभन्दा अझ बढी बाँचेको देखाएको छ ।
गम्भीर प्रकृतिका बिरामीलाई पनि बिहान कालो चियाको प्रेस्क्राइब गर्ने डाक्टरहरूले चियाको फाइदा/बेफाइदा बारेमा बुझेका नै होलान् ! वरिष्ठ मुटुरोग विशेषज्ञ तथा चर्चित ब्लगर डाक्टर ओममूर्ति अनिलको भनाइ छ— चियाबाट प्राप्त हुने एन्टिअक्सिडेन्ट र केसिनले मानव स्वास्थ्यमा फाइदा नै गर्छ । फरक यत्ति हो, हामीले कति समयको अन्तरालमा कतिपटक पिउँछौँ भन्ने कुरा हो ।
दूध भएको चिया पिउनुमा पनि ठिक/बेठिकका कुरा नआएको होइन । यो पनि स्वास्थ्यकै नजरले हेरिने प्रसंग हो । अवश्य पनि चिया पिउने अधिकांशको रोजाइ दूध चिया नै पर्छ । कालो चिया – त्यसमाथि पनि चिनी नहालेर ! बरु, नपिएकै बेस भन्ने धेरै छन् ।
कतिपय व्यक्तिलाई कालो चिया पिउनु सजायसरह हुन्छ । त्यस्तोमा साहित्यकार, कवि, कलाकार र समाजका गण्यमान्यदेखि सर्वसाधारण थुप्रै छन्, तिनको रोजाइमा दूध चिया नै पर्दछ ।
स्पष्ट भनूँ, म पनि दूधको चिया नै रुचाउँछु ।
स्थानविशेषले पनि चियाको स्वाद र सन्तुष्टिमा फरक पार्ने गरेको पाइन्छ । कतिपयलाई आफ्नो रोजाइको ठाउँ र रोजाइका मानिस/साथीभाइ वा एकान्तमा प्रेमिल जोडीसँगै बसेर पिएको चियाको स्वाद र सन्तुष्टि अविस्मरणीय हुने गर्छ । हामीकहाँ चिया पिउनकै लागि लामो दूरी तय गरेर जानेहरू पनि छन् ।
आजसम्म चियाको विकासमा जे जति प्रगति भएका छन्, ती सबै निजी तवरबाटै भएको देखिएका छन् । यो तथ्यलाई नकार्न सकिँदैन । तर, सरकारी र सम्बन्धित निकायले जागिरको सोझो मात्र गर्नुभन्दा अझै माथि उठेर अन्तर्राष्ट्रियस्तरमा नेपाली चियालाई पुर्याउँदा र मुलुकभित्रै चिया व्यवसायलाई फस्टाउने सोचका साथ काम गरे यसले चियालाई अझै स्वादिलो बनाउँथ्यो कि !