काठमाडौं । मनाङस्थित समुद्र सतहबाट चारहजार ९४९ मिटर उचाइमा रहेको पर्यटकीयस्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले ३९० वाटको सौर्य प्यानल राखेर तिलिचो तालमा विद्युत् आपूर्तिको व्यवस्था गरेको हो ।
प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोले केही दिनअघिबाट सौर्य प्यानलको व्यवस्था गरी तिलिचोतालमा बत्ती बालिएको जानकारी दिए ।
उनका अनुसार, बत्ती पुगेपछि पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको छ ।
मनाङको ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट चारहजार २५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प)सम्म भने यसअघि नै राष्ट्रिय प्रसारणलाइनको बिजुली पुगिसकेको छ । बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो ।
बेस क्याम्पबाट ताल पुग्न करिब तीन घण्टा हिँड्नुपर्छ । ताल वरिपरि बस्ती पनि नभएकाले तत्कालका लागि सौर्य ऊर्जाबाट विद्युत् आपूर्तिको व्यवस्था गरिएको महतोले बताए ।