काठमाडौं । विश्व खेलकुदको सबैभन्दा बृहत् प्रतियोगिता ओलम्पिकमा १२८ वर्षपछि समावेश भएको क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
बुधबार सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक (एलए २०२८) अन्तर्गत हुने क्रिकेटको तालिका सार्वजनिक भएको हो ।
आयोजकका अनुसार, एलए २०२८ मा क्रिकेटका खेलहरू ओलम्पिकको आधिकारिक उद्घाटनको दुई दिनअगावै सुरु हुनेछ । तालिकाअनुसार क्रिकेट २०२८ जुलाई १२ देखि सुरु हुनेछ । क्रिकेटको उद्घाटन खेल स्थानीय समयअनुसार बिहानको ९ बजेका लागि तय भएको छ ।
यसपटकको संस्करणमा क्रिकेटमा पुरुष र महिला दुवैतर्फ खेल खेलाइने छ । क्रिकेटका सम्पूर्ण खेल अस्थायी रंगशाला निर्माण गरी अमेरिकाको दक्षिण क्यालिर्फाेनियन सहर, पोमोनामा खेलाइने छ । यसअघि अमेरिकाले गत वर्ष भएको ट्वान्टी–२० विश्वकप दौरान केही अस्थायी क्रिकेट रंगशालाको निर्माण गरेको थियो ।
प्रतियोगिताअन्तर्गत साँझमा हुने खेलहरू फ्लडलाइटमा खेलाइने छ । प्रतियोगितामा पुरुष र महिलातर्फ समान ६ देश सहभागी हुनेछन् ।