काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा मंगलबार भुटान र घरेलु टिम बंगलादेशबीचको खेलमा अचम्मको दृष्य देखियो ।
प्रतियोगितामा बंगलादेश र भुटान आफ्नो तेस्रो खेलमा ढाकास्थित बसुन्धरा किंग्स एरिनामा प्रतिस्पर्धाका लागि उत्रिएका थिए । तर, खेलको पहिलो र दोस्रो हाफ दुई फरक मैदानमा सञ्चालन भयो । यसैकारण यो खेल अहिले चर्चामा छ ।
भएको के थियो ?
मंगलबार ढाकामा यी दुई टिम स्थानीय समयानुसार दिउँसो ३ बजे प्रतिस्पर्धाका निम्ति बसुन्धरा किंग्स एरिनामा उत्रिएका थिए । तर, लगातारको भारी वर्षाका कारण मैदानको स्थिति निकै खराब बनेपछि आयोजकले बसुन्धरामा पहिलो हाफमात्रै सञ्चालन गर्ने निर्णय गरे ।
यसपछि खेलको दोस्रो हाफ बसुन्धरा किंग्स एरिनाकै प्रशिक्षण मैदानमा सञ्चालन गरिएको थियो । खेलमा बंगलादेशले नतिजा ४–१ ले आफ्नो पक्षमा राखेको थियो ।
लगातारको वर्षाका कारण बसुन्धरा किंग्स एरिना खेल्न अयोग्य बन्दा यसपछि नेपाल र श्रीलंकाबीचको खेल पनि प्रशिक्षण मैदानमै सञ्चालन गरिएको थियो । उक्त खेलमा नेपालले श्रीलंकाविरुद्ध ७–० को जित निकालेको थियो ।