काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले २८ हजार ५०० मेगावाट बिजुली उत्पादनमा सरकार दृढ रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २३औँ वार्षिक साधारणसभाको उद्घाटनमा मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको बताए ।
“ट्रान्समिसन लाइन पुगेको ठाउँमा विद्युत् उत्पादन गर्न दिनुपर्ने प्रधानमन्त्रीज्यूको नीतिअनुरूप पीपीए भएको छ,” मन्त्री खड्काले भने ।
साथै, उत्पादनका क्रममा देखिएका अवरोध हटाउन वन मन्त्रालयसँग पनि निरन्तर छलफल र समन्वय भइरहेको उनको भनाइ छ ।
उनले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए । सरकारले सुरक्षित लगानी वातावरण तयार गरेर निजी क्षेत्रलाई साझेदार बनाउन कुनै द्विविधा नरहेको उनको दाबी छ ।
“सरकार एक्लैले लगानी गर्न सक्दैन, निजी क्षेत्रको सहभागिता आवश्यक छ,” उनले भने ।
कार्यक्रममा पूर्वऊर्जामन्त्री जनार्दन शर्माले सरकारको नियत र कार्यशैलीमाथि प्रश्न उठाए । उनले समयमै विद्युत् खरिद सम्झौता नगरेको, लाइसेन्स कब्जा गर्ने प्रवृत्ति रोक्न नसकेको बताए ।
जवाफमा मन्त्री खड्काले विगत १२ वर्षमा माओवादी नेतृत्वले 'ऊर्जा मन्त्रालय सम्हाल्दा के काम भयो ?' भन्ने प्रश्न गरे ।
“विगतदेखि रोकिएका काम अहिले अघि बढेका छन्,” उनले भने ।
मन्त्री खड्काले सरकारमा हुँदा एउटा र बाहिर हुँदा अर्को कुरा गरेर विकासको बाधक बन्नुको सट्टा राष्ट्रको समृद्धिका लागि सबैले अपनत्व लिनुपर्ने बताए ।