काठमाडौं । अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै पुँजी पलायन पनि ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, बितेको सात वर्षमा अध्ययन निम्ति विद्यार्थी विदेश जाँदा नेपालबाट पाँच खर्ब १५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको छ ।
उक्त रकम २०७५ साउन १ गतेदेखि २०८२ जेठ मसान्तसम्मको अवधिमा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै बाहिरिएको हो । यो रकम भनेको उक्त अवधिमा नेपाली विदेश जाँदा लगेको कूल रकमको ६३.५४ प्रतिशत हो । तर, रकम औपचारिक च्यानलबाट गएको हो ।
बितेको करिब सात वर्षमा नेपालीहरू विदेश जाँदा कुल ८ खर्ब १० अर्ब ७० करोड रुपैयाँ विदेशिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । यो तथ्याङ्कले विद्यार्थीसँगै नेपालबाट ठूलो पुँजी विदेश पुगेको देखाएको छ ।
मान्छे एक ठाउँबाट अर्को ठाउँमा जानुलाई सामान्य मान्छन् शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला ।
“हाम्रो घाउँघरतिर एउटा भनाई छ नि, चारखुट्टेलाई गोठाला लाग्न सकिन्छ, दुई खुट्टेलाई गोठालो लाग्न सकिँदैन । मान्छे हिँड्छ, रोक्न सकिँदैन र मान्छे हिँड्नु सामान्य हो,” उनले बाह्रखरीसँग भने ।
उनकै शब्दमा, अमेरिकीहरू युरोपतिर सरिरहेका छन् । बेलायतीहरू न्यूजील्यान्ड गइरहेका छन् । नेपाली विद्यार्थीहरू युरोप र अमेरिका ताकिरहेका छन् ।
“यो स्वाभाविक नै हो । फरक के हो भने अरु देशले आफ्ना नागरिकलाई आफ्नै देशमा सम्भावना देखाउँछन् । हाम्राले निराशा मात्र देखाउँछन्,” शिक्षाविद् कोइरालाले भने ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार, बितेको करिब सात वर्षमा नेपालमा ७९ खर्ब २१ अर्ब ५४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसको ६.५० प्रतिशत रकम विद्यार्थी विदेश पढ्न जाँदा देशबाट बाहिरिएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा ४६ अर्ब ३२ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा यो रकममा ४४.२७ प्रतिशत गिरावट आई २५ अर्ब ८१ करोड रुपैयाँमा झरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा विदेश अध्ययन गर्न जाने विद्यार्थीसँगै २४ अर्ब ९६ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो । अघिल्लो वर्षको तुलनामा उक्त वर्ष विद्यार्थीसँगै विदेश जाने रकममा ३.२९ प्रतिशतले कमी आएको थियो ।
आर्थिक वर्ष २०७८/७९ बाट भने नेपाली विद्यार्थी विदेश जानेक्रम ह्वात्तै बढेको छ । योसँगै पुँजी पलायन पनि ह्वात्तै बढेको देखिन्छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार, अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा विद्यार्थीसँगै विदेसिने नेपाली रकममा २७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । उक्त वर्ष विद्यार्थीसँगै नेपालबाट ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा नेपाली विद्यार्थीसँगै बाहिरिने रकममा ४८ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष २०८०/८१ का यो रकम २४ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । उक्त वर्ष १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेश जाने विद्यार्थीले साथमा लगेका थिए ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा विदेश पढ्न जाने नेपाली विद्यार्थीसँगै १ खर्ब २४ अर्ब ८० करोड रुपैयाँ विदेसिएको छ । राष्ट्र बैंकको तथ्याङ्कले पछिल्ला तीन आर्थिक वर्षमा विद्यार्थीसँगै प्रत्येक वर्ष एक खर्ब रुपैयाँभन्दा बढी रकम देशबाट बाहिरिएको देखाएको छ ।
“मान्छे बाहिरिनु समस्या होइन । गएकालाई फिर्ता ल्याउन नसक्नु समस्या हो,” शिक्षाविद् कोइरालाको बुझाइ छ ।
अध्ययनका लागि कति नेपाली विदेश जान्छन् ?
अध्यागमन विभागको तथ्याङ्क अनुसार, सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना नेपाली विदेश गएका थिए । तीमध्ये ५९ हजार ९७८ जना पुरुष र ४८ हजार ५६२ जना महिला गरी कुल १ लाख ८ हजार ५४२ जना अध्ययन (स्टुडेन्ट भिसा)को लागि विदेश गएका थिए ।

यस्तै, सन् २०२४ मा १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ । यीमध्ये ६४ हजार ३३५ पुरुष र ५५ हजार ६८ जना महिला गरी कुल १ लाख १९ हजार ४०९ जना अध्ययन गर्ने उद्देश्यले विदेश गएका थिए ।
अध्यागमन विभागको यो तथ्याङ्कले कुल विदेश जानेमध्ये सन् २०२३ मा ६.७६ प्रतिशत र सन् २०२४ मा ७.१३ प्रतिशत विद्यार्थी थिए । अर्थात् उनीहरू अध्ययन गर्ने उद्देश्य लिई विदेश प्रस्थान गरेका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बितको १० वर्ष ८ महिनाको अवधिमा कुल ७ लाख २१ हजार ३३२ वटा वैदेशिक अध्ययन अनुमतिपत्र जारी गरेको छ । यही अनुमतिपत्रका आधारमा नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाने गर्छन् ।
मन्त्रालयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७१/७२ मा ३० हजार ७९७ वटा वैदेशिक अध्ययन अनुमतिपत्र जारी गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा आईपुग्दा यो संख्या बढेर १ लाख १२ हजार ९६८ पुगेको छ । यो तथ्याङ्कले दश वर्षमा वैदेशिक अध्ययन अनुमतिपत्र लिनेको संख्या साढे तीन गुणाभन्दा बढीले वृद्धि भएको देखाउँछ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ८ महिना (२०८१ साउनदेखि फागुनसम्म) मा शिक्षा मन्त्रालयले ९२ हजार ६४८ वटा वैदेशिक अध्ययन अनुमतिपत्र जारी गरिसकेको छ ।
शिक्षा मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०७२/७३ मा ३७ हजार १४८ जना, २०७३/७४ मा ५० हजार ७९६ जना, २०७४/७५ मा ५८ हजार ७५८ जना, २०७५/७६ मा ६३ हजार ४१७ जना, २०७६/७७ मा ३३ हजार १९६ जना, २०७७/७८ मा २८ हजार ८८३ जना, २०७८/७९ मा १ लाख २ हजार ५०४ जना र २०७९/८० मा १ लाख १० हजार २१७ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए ।
नेपाली विद्यार्थी कुन देश जान्छन् ?
गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख १२ हजार ९६८ जनाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए । उनीहरूले ६६ देशमा अध्ययन गर्न जान एनओसी लिएका थिए ।
नेपाली अध्ययन गर्न अफ्रिकी राष्ट्र इजिप्टदेखि मध्यअमेरिकी राष्ट्र कोस्टारिकासम्म पुगेको देखिन्छ ।
शिक्षा मन्त्रालयले गत आर्थिक वर्ष जारी गरेको वैदेशिक अध्ययन अनुमतिपत्र अनुसार अध्ययनका लागि सबैभन्दा ठूलो संख्यामा नेपाली जापान जाने गरेको दखिन्छ । गत आर्थिक वर्ष ३४ हजार ७३१ जना नेपालीले जापानमा अध्ययन निम्ति वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए । विदेश अध्ययन गर्न जानेमध्ये झण्डै ३१ प्रतिशत जापान जाने गरेको यो तथ्याङ्कले देखाउँछ ।
जापानपछि दोस्रो ठूलो संख्यामा नेपाली अध्ययनका लागि क्यानडा जाने गरेका छन् । गत आर्थिक वर्ष १५ हजार ९८२ जनाले क्यानडामा अध्ययन गर्न वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए ।
जापान र क्यानडापछि क्रममा ठूलो संख्यामा नेपाली अष्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, डेनमार्क, फिनल्याण्ड, फ्रान्स र न्यूजील्याण्ड जाने गरेको देखिन्छ ।
गत आर्थिक वर्ष अध्ययन गर्न क्यानडा १५ हजार ९८२, अष्ट्रेलिया १४ हजार ३७२, बेलायत १३ हजार ३३९, अमेरिका ११ हजार २६१, दक्षिण कोरिया ६ हजार ८८९, भारत २ हजार ३८९, डेनमार्क १ हजार ७५४, फिनल्याण्ड १ हजार ५३५, फ्रान्स १ हजार ४८९ र न्यूजील्याण्ड १ हजार ४४६ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए ।
नेपालीले विदेशमा के पढ्छन् ?
वर्षेनि एक लाखभन्दा बढी नेपाली अध्ययन गर्न विदेश जान्छन्, उनीहरू के पढ्न जान्छन् त ? यसको जवाफ शिक्षा मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा जारी गरेका वैदेशिक अध्ययन अनुमतिपत्रको विषयगत विवरणबाट पाउन सकिन्छ ।
गत आर्थिक वर्ष ९४ वटा विषयमा अध्ययन निम्ति विद्यार्थीहरूले मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए ।
जारी भएका वैदेशिक अध्ययन अनुमतिपत्रको संख्याअनुसार सबैभन्दा ठूलो संख्यामा नेपाली जापानिज भाषा अध्ययन गर्न चाहन्छन् । गत वर्ष जापानिज भाषा अध्ययन गर्न ३३ हजार ६९७ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए ।
जापानिज भाषापछि दोस्रो ठूलो संख्यामा नेपालीले पढ्ने विषय हो, म्यानेजमेन्ट । गत आर्थिक वर्ष म्यानेजमेन्ट पढ्न २८ हजार ८९१ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए ।
तेस्रो ठूलो संख्या ‘बिज्नेस’ पढ्नेहरूको छ । गत आर्थिक वर्ष १० हजार २९ जनाले विभिन्न देशमा बिज्नेस विषय अध्ययन वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए ।
गत आर्थिक वर्ष इन्फरमेसन टेक्नोलोजी (आईटी) पढ्न ५ हजार ९११ जना, विज्ञान पढ्न ५ हजार ३८४ जना, कम्प्युटर साइन्स पढ्न ४ हजार ९९२ जना, इन्जिनियरिङ पढ्न ४ हजार ४२६ जना, स्वास्थ्य पढ्न ४ हजार १५९ जना, हस्पिटालिटी पढ्न २ हजार ५४३ जना, आट्स पढ्न १ हजार ८१३ जना, मेडिसिन पढ्न ५९९ जना, ह्युम्यानिटिज् पढ्न ५४३ जना र शिक्षा पढ्न ४३६ जनाले मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमतिपत्र लिएको देखिन्छ ।
विद्यार्थी रोक्ने र फर्काउने योजना छैन
नेपालमा ‘निराशा’ बढी देखाउँदा विदेश जानेको संख्या बढ्दै गएको तर्क शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको छ । यहाँ प्राध्यापक भन्छन्, ‘पढाई काम लाग्दैन ।’ नेता भन्छन्, ‘देश बस्न लायक रहेन ।’ वर्षेनी अर्बौं कमाइरहेका व्यापारी तथा उद्योगी भन्छन्, ‘यहाँ केही हुँदैन ।’
“हामीले निराशा मात्र देखायौं । यहाँका पहाड, हिमाल र तराईमा के गर्न सकिन्छ भनी देखाएनौं र सिकाएनौं,” शिक्षाविद् कोइराला भन्छन्, “हामी आफैँ पढाउँछै अनि आफैँ यो पढाई काम लग्दैन भन्ने गर्छौं । काम नलाग्ने पढाई किन पढाइरहेका छौं त ? हामीले विद्यार्थीलाई निराशा मात्र बोकायौं । आशा जगाउन सकेनौं ।”
विदेश पढ्न जानु ‘विश्वव्यापी ट्रेन्ड’ बनेको छ । एसियालीहरू पश्चिमी राष्ट्र जान्छन् । अमेरिकीहरू युरोप तथा एसिया आउँछन् । युरोपेलीहरू यसैगरी अन्यत्र गइरहेका छन् । फरक यत्ति हो युरोपेली र अमेरिकीहरू पढाई सकेपछि आफ्नो देश फर्किन्छन् । नेपालीहरू पढ्न युरोप र अमेरिका गएपछि उत्तै ‘सेटल’ हुन खोज्छन् ।
“नेपाली विद्यार्थी युरोप, अमेरिका जाने बित्तिकै घर, गाडी सबै ऋणमा पाउँछ । अनि उ उतै ऋणले बाधिन्छ,” शिक्षाविद् कोइराला भन्छन्, “नेपाल सरकारले पनि त्यसैगरी विद्यार्थीलाई घर, गाडी, जग्गा उपलब्ध गरोस् त । यो ढंगले हामीले काम गरेनौं ।”
युरोप तथा अमेरिकामा अध्ययन गर्न केही सहज पनि छ, जुन नेपालमा छैन । उनी थप स्पष्ट पार्छन्, “युरोप तथा अमेरिकामा विद्यार्थीले ‘हप्ताको दुई दिन मात्र कक्षामा उपस्थित हुन सक्छु, नत्र गाह्रो हुन्छ’ भन्यो भने उसलाई घरमै बसेर गर्न मिल्ने प्रोजेक्ट वर्कहरू दिँदै ‘हुन्छ’ भनिन्छ । तर हाम्रोमा दिनहुँ हाजिर हुन्छ, हाजिर हेर्छु भन्छन् । त्यसपछि विद्यार्थी विदेश जान्छन् ।”
शिक्षाविद् कोइरालाका अनुसार, ज्ञान, सीप, प्रविधि र पैसा कमाउन विदेश गइरहनु पर्दैन । प्रविधिको विकासले विदेशमा रहेका ज्ञान, सीप र प्रविधि नेपालमै बसेर लिन सकिने बनाइदिएको छ ।
“सबैभन्दा गाह्रो भनेको विदेश गएको मान्छे फर्काउन रहेछ,” उनले भने । यस्तै समस्या भोगेको जापान, चीनले विशेष योजना बनाएर आफ्ना नागरिकलाई फिर्ता बोलाउन सफल भएका छन् । ‘हामीले नगरेको यही हो,” शिक्षाविद् कोइरालाले भने ।
एक व्यक्ति विदेश जाँदा उसले त्यहाँको भाषा, संस्कृति, सीप, प्रविधि आदि सिक्छ । यस्तो जाने बुझेको व्यक्तिलाई फर्काएर देशभित्रै केही गर्ने वातावरण बनाउनसके देशलाई धेरै फाइदा हुनेछ । “दैनिक २२ सय विदेश जान्छन् रे भन्छौं हामी । १८ सय त दैनिक फर्किन्छन् नि । फर्केकालाई के गर्ने, उनीहरूले के सिकेर आएर आए त्यसबारे हामीले सोच्नु पर्दैन ?,” उनले भने ।
विदेश गएका नेपालीहरूले केही न केही सिकेर आएका हुन्छन् । इजरायल जानेले कृषि सिकेका हुन्छन् भने साउदी अरब जानेले पशुपालन । “हाम्रा पालिकाहरूले विदेशबाट सीप सिकेर आएकाहरूलाई बाझो बसेका जग्गाहरू लिएर लिजमा उपलब्ध गराए हुन्छ नि । पालिका ग्यारेन्टी बसिदियो भने उनीहरूलाई काम गर्न सजिलो हुन्छ । तर हामीकहाँ यस्तो गरिँदैन,” शिक्षाविद् कोइरालाले भने ।
देशमा लाखौं विद्यार्थी अध्ययनरत छन् । एक वर्षमा तीमध्ये एक लाख विद्यार्थी अध्ययन गर्न विदेश जान्छन् । शिक्षाविद् कोइराला भन्छन्, ‘‘तर हामी विदेश जाने एक लाखको बारेमा कुरा र्छौं । यहाँ बसेर पढिरहेका लाखौं विद्यार्थीबारे कुरै गर्दैनौं ।”
