काठमाडौं । ललितपुरको पाटनढोकास्थित एक क्याफे सञ्चालकमाथि कुटपिट भएको छ । पाटनढोकास्थित एबीसी अरोमाटिक क्याफे सञ्चालक सरोज अवाले र उनकी आमा सविना अवालेमाथि शुक्रबार साँझ कुटपिट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ग्राहकका रूपमा आएका दुई युवाले सुरुमा क्याफेका कर्मचारी र पछि सञ्चालकमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट सरोजको मुख, आँखा र नाकमा चोट लागेको छ । यस्तै, सविनाको पनि शरीरको विभिन्न भागमा चोट लागेको छ ।
घटनाबारे सविनाकी छोरी समिनाले फेसबुकबाट घटना सार्वजनिक गरेकी छन् । उनका अनुसार, अदित अवाले र शिव महर्जनले कुटपिट गरेका हुन् । समिनाले घटनाबारे प्रहरीमा जानकारीसमेत गराइसकेको उल्लेख गरेकी छन् ।
ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, घटनामा संलग्न रहेको आरोप लागेका अदित र शिव फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजीकार्य जारी छ ।