काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसला दर पहिलोपटक ५० प्रतिशत नाघेको छ । आर्थिक वर्ष ०८१/०८२ को चार दिन बाँकी रहँदै अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार, कुल ५२ हजार १४१ मुद्दामध्ये २६ हजार ७४४ मुद्दा फैसला गरेर अदालतले ५१.२९ प्रतिशत फैसला गर्न सफल भएको हो ।
काठमाडौं जिल्ला अदालतमा देशभरका मुद्दा दर्ता गर्न मिल्ने, दर्ता गरिसकेका मुद्दाका पक्षहरू खोज्दा नभेटिने, तामेलीमा लामो समय कुर्नुपर्ने, जनशक्ति अभाव, भौतिक पूर्वाधारको अभावसहितका चुनौती खेपिरहेको अदालतले अहिले हासिल गरेको उपलब्धि इतिहासमै उच्च रहेकाे एक नम्बर न्यायाधीश कमलप्रसाद पोखरेलले जानकारी दिए ।
अदालतले सेवाग्राहीलाई केन्द्रमा राखेर काम गरेको भन्दै आवश्यक सुधारका प्रयास पनि जारी रहेको उनले बताए । “अदालत जनताको अदालत हो । जनताको विश्वास भएन भने न्यायपालिका र अदालतको अर्थ रहँदैन,” पोखरेलले अदालतको वार्षिक उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, “त्यसैले हाम्रो (अदालतका न्यायाधीश र प्रशासन) टिम सेवाग्राही केन्द्रित भएर काम गरिरहेका छौँ ।”
काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरूमा मुद्दाका भार देशकै बढी भएको भन्दै सीमित जनशक्तिका बाबजुद आएको उपलब्धिले अझ धेरै काम गर्न प्रोत्साहित गरिरहेको बताए ।
“सुधारका परिणामहरू देखिन थालेका छन् । अब विस्तारै परिणाम देखिनेगरी सुधार आउनेछन्,” न्यायाधीश पोखरेलले भने, “अदालतले गरेका राम्रा प्रयासहरू नागरिक र सेवाग्राहीसम्म पुगोस् भन्ने चाहन्छौँ । अदालतमा विकृति विसंगति छन् कतै भने सुझाव दिनुहुन र त्यस्ता प्रवृत्ति अन्त्य गर्न सहयोगका लागि आग्रह गर्दछौँ ।”
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले अदालतका उपलब्धिहरूको प्रस्तुति गरेका थिए । उनले ०७७/७८ देखि हालसम्मको तथ्यांक प्रस्तुत गर्दै मुद्दाको चाप निरन्तर बढेसँगै फैसला दर पनि निरन्तर बढेको जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतमा ०७७/७८ मा २१ हजार ८३२ मुद्दा रहेकोमा हरेक वर्ष बढ्दै ०८१/८२ मा ५२ हजार १४१ पुगेको छ । फैसला दर ०७७/७८ मा ३९.०९ रहेकोमा हरेक वर्ष बढ्दै ०८१/८२ मा ५१.२९ प्रतिशत पुगेको हो ।
काठमाडौं जिल्ला अदालतको इतिहासमा यो हालसम्मकै सबैभन्दा उच्च फैसला दर रहेको एक नम्बर न्यायाधीश पोखरेलले जानकारी दिएका छन् ।