काठमाडौं । मछिन्द्र क्लबले एन्फा यू–१६ युथ लिगमा सातदोबाटो युथ क्लबसँगको खेलमा गोलको वर्षा गरेको छ । मछिन्द्रले लिगअन्तर्गत आइतबारको दोस्रो खेलमा सातदोबाटोलाई १२–१ ले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा मछिन्द्रलाई जित दिलाउन विकास थापाले ह्याट्रिक गोल गरे । त्यसैगरी, गोविन्द विक र राहुलकुमार योञ्जनले समान दुई गोल गरे । त्यसैगरी जनक विक, सुमन बम ठकुरी, करण धामी, कोन्जोक विक र सौगात मगरले समान एक गोल गरे । जवाफमा सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो ।
खेलको तेस्रो मिनेटमा जनकले मछिन्द्रलाई अग्रता दिलाए । सातौँ र १७औँ मिनेटमा विकासले लगातर दुई गोल गरेपछि टोलीले सातदोबाटोमाथि ३–० को अग्रता बनायो । १७औँ मिनेटमा सुमनले अग्रतामा एक गोल थपे । २१औँ मिनेटमा करणले टोलीको निम्ति गोल गरे । २६औँ मिनेटमा राहुल कुमारले छैटौँ गोल गरे । ४८औँ मिनेटमा विकासले पुनः गोल गरे ।
यसको चार मिनेटपछि सातदोबाटोका युवराजले गोल गर्दै टोलीलाई ७–१ को अवस्थामा राखे ।
६१औँ मिनेटमा गोविन्दले गोल गर्दै अग्रतालाई ८–१ को अवस्थामा पुर्याए । ६५औँ मिनेटमा कोन्जोकले टोलीलाई ९–१ को अग्रता दिलाए । ७५औँ र ७८औँ मिनेटमा सौगात र राहुल कुमारले गोल गरेपछि मछिन्द्रले अग्रतालाई ११–१ सम्म पुर्यायो । इन्जुरी समयमा गोविन्दले खेलको अन्तिम गोल गरे ।
जितसँगै मछिन्द्रले लिगमा स्पष्ट नौ अंक बनाएको छ । अब उसले पाचौँ खेल भगवती क्लबसँग खेल्नेछ । खेल आगामी बिहीबार (साउन १ गते) दिउँसो ४ बजे हुने तालिका छ ।
पराजित सातदोबाटोले पाँचौँ खेल डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । खेल आगामी बुधबार (असार ३२ गते) बिहान १० बजे हुनेछ ।